उनले भने, ‘नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ। सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत् समयमै सार्वजनिक गर्नेछ।’
उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट पारे।
उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे।
उनले राष्ट्रिय संकटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दैै आएको भूमिकाको प्रशंसा गरे।
कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसंग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरे।
त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राख्नुभयो ।



