काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षरसहित एन्फालाई पठाइएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध हटाइएको उल्लेख छ।
एन्फाले गत चैत २३ गते निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो। निर्णयबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खेलकुद मन्त्रालयसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ।



