काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार उनलाई उक्त जिम्मेवारी दिएको हो। योसँगै विशालले घरेलु फुटबलमार्फत पनि सन्न्यास लिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्। उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए।
तर, मच्छिन्द्र फुटबल क्लबबाट उनले घरेलु फुटबल खेलिरहेका थिए। सिन्धुपाल्चोकस्थित तौथलीमा जन्मिएका विशालले एक मात्रै अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिए।
३३ वर्षीय विशालले मनाङ मर्स्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन्।
यस्तै, बुटबल लुम्बिनी एफसी र एफसी चितवनबाट उनले नेपाल सुपर लिग (एनएसएल) खेलेका छन्। यस्तै, मन्त्रालयले राखेपको चार जाना बोर्ड सदस्य पनि नियुक्त गरेको थियो। नियुक्त भएका सदस्यमा पूर्वअलराउन्डर तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बू, फुटबलका पवन शाही र टेबल टेनिसकी सिक्का सुवाल रहेका छन्।




