रास्वपाका २० सांसद चीनमा के गर्दै छन्?

विकासका पाँच क्षेत्रमा सहकार्यको प्रस्ताव

हिमाल प्रेस २ मंसिर २०८३ १५:०० | Wednesday, November 18, 2026
रास्वपाका २० सांसद चीनमा के गर्दै छन्? चिनियाँ अधिकारीहरूसँगको भेटमा रास्वपाका सांसदहरू। तस्बिर सौजन्य : रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदसहितको प्रतिनिधिमण्डल चीन भ्रमणमा छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीले चीनमा राजनीतिक भेटघाटदेखि विकासका सम्भावित क्षेत्रमा सहकार्यको प्रस्तावसम्मका गतिविधि गरिरहेको छ।

भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तीय समितिका सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग भेटवार्ता गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलले बुधबार जारी गरेको विज्ञप्तिअनुसार मंगलबार चेङ्दुमा भएको भेटमा नेपाल र चीनबीचको सम्बन्धलाई विकास र साझा समृद्धिमा केन्द्रित गर्दै व्यावहारिक सहकार्य अघि बढाउने विषयमा छलफल भएको थियो।

भेटमा रास्वपा प्रतिनिधिमण्डलले पाँचवटा क्षेत्रमा सहकार्यको प्रस्ताव गरेको छ। सीमापार यातायात पूर्वाधार, पर्वतीय अध्ययन तथा विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल नवप्रवर्तनलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि सारिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिमण्डलले नेपाल र सिचुवानको पर्वतीय भौगोलिक अवस्था तथा विपद् जोखिममा समानता रहेको उल्लेख गर्दै मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण र विपद् पूर्वतयारीमा सहकार्य गर्न प्रस्ताव गरेको छ। विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच अनुभव आदानप्रदान गर्नुपर्ने पनि नेपाली पक्षको भनाइ छ।

नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्ने प्रस्ताव गरिएको छ। जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावनासमेत छलफलमा उठाइएको विज्ञप्तिमा उल्लेख छ।

हवाई सम्पर्क विस्तारका लागि चेङ्दुबाट काठमाडौँ, पोखरा र भैरहवामा थप प्रत्यक्ष उडान सञ्चालनको सम्भावना खोज्न पनि रास्वपाले आग्रह गरेको छ। नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाका सामग्री चीन निर्यात गर्न बजार पहुँच, प्रशोधन, भण्डारण र गुणस्तर मापदण्डमा सहकार्यको प्रस्ताव गरिएको छ।

युवा तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्न सकिने रास्वपाको प्रस्ताव छ। नेपाली युवाको प्रविधिसम्बन्धी रुचि र नेपालको स्वच्छ विद्युत् उत्पादन क्षमतालाई सिचुवानको अनुसन्धान तथा औद्योगिक क्षमतासँग जोड्न सकिने प्रतिनिधिमण्डलको धारणा छ।

भेटमा महामन्त्री आचार्यले दुई देशका राजनीतिक दलका प्रणाली, दर्शन र कार्यशैली फरक भए पनि नागरिकको विश्वासको सम्मान गर्दै उनीहरूको हित र समृद्धिका लागि काम गर्ने विषय साझा रहेको बताएका थिए।

उनले विगतमा नेपालमा अस्थिर गठबन्धनका कारण विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै रास्वपाले स्पष्ट राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमता भएको स्थिर सत्तारूढ शक्तिको प्रतिनिधित्व गरेको बताएका थिए। अब विकास आयोजनाको कार्यान्वयनमा अवरोध नहुने उनको भनाइ थियो।

प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहसँग भ्रमणअघि छलफल गरेको जानकारी पनि चिनियाँ पक्षलाई गराएको थियो। साथै, नेपाल एक–चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध प्रयोग हुन नदिने नेपालको नीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

सिचुवानले सहकार्य अघि बढाउने प्रतिबद्धता

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव वाङले नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य क्रमशः अघि बढिरहेको बताएका थिए। नेपालसँग निकट सम्पर्क भएका चिनियाँ प्रान्तमध्ये सिचुवान पनि एक रहेको उल्लेख गर्दै उनले दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता जनाएका थिए।

रास्वपा प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल र सिचुवानबीच पार्टीगत तथा सरकारी तहको सम्बन्ध थप बलियो बनाउने र नयाँ क्षेत्रमा रणनीतिक साझेदारी विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न सकिने उनको भनाइ थियो।

विज्ञप्तिअनुसार महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद दिएका थिए।

प्रकाशित: २ मंसिर २०८३ १५:०० | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast