एनभिडियाको नेतृत्वमा फर्केलान् हुआङ?

हिमाल प्रेस १ मंसिर २०८३ ११:३८ | Tuesday, November 17, 2026
एनभिडियाको नेतृत्वमा फर्केलान् हुआङ?

काठमाडौँ- एनभिडियाका सञ्चालक समितिले कम्पनीका सहसंस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः नेतृत्वमा ल्याउन रुचि नदेखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, स्पेसएक्सका प्रमुख एलन मस्कसहित प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरूले उनलाई पुनः जिम्मेवारीमा फर्काउनुपर्ने अभियानलाई समर्थन गरेका छन्।

ट्रम्पले सोमबार हुआङलाई पुनः पदमा फर्काइएको अवस्थामा आफूलाई कुनै आपत्ति नहुने बताएका थिए। यससँगै ‘ब्रिङ जेन्सेन ब्याक’ (जेन्सेनलाई फर्काऊ) अभियानले थप चर्चा पाएको छ।

बीबीसीका अनुसार गत साता दुई महिलासँग विवाहबाहिर सम्बन्ध रहेको खुलासा भएपछि हुआङले एनभिडियाको नेतृत्वबाट राजीनामा दिएका थिए। तीमध्ये एक सम्बन्ध चीनको सम्भावित गुप्तचरसँग जोडिएको आरोपसमेत सार्वजनिक भएको थियो। अर्को सम्बन्ध एनभिडियाकै एक महिला कार्यकारीसँग रहेको बताइएको छ।

हुआङको राजीनामापछि उनलाई पुनः नेतृत्वमा फर्काउन माग गर्दै १ लाख ७५ हजारभन्दा बढी व्यक्तिले खुला पत्रमा हस्ताक्षर गरिसकेका छन्। ‘स्ट्यान्ड विथ जेन्सेन’ नामक अभियानले आफूलाई एनभिडियाका वर्तमान तथा पूर्व कर्मचारी, साझेदार, सेयरधनी र समर्थकहरूको पहलका रूपमा प्रस्तुत गरेको छ। अभियानमा आबद्ध व्यक्तिहरूले पर्याप्त प्रक्रिया पूरा नगरी हुआङलाई पदबाट हटाइएको भन्दै आपत्ति जनाएका छन्। स्पेसएक्सका एलन मस्क र फोर्टनाइट निर्माता कम्पनी एपिक गेम्सका प्रमुख कार्यकारी टिम स्वीनीले पनि हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन समर्थन गरेका छन्।

फाइनान्सियल टाइम्सका अनुसार हुआङले आफ्ना निकटस्थहरूसँग एनभिडियामा पुनरागमन गर्ने सम्भावनाबारे छलफल गरेका छन्। तर बीबीसीलाई प्राप्त जानकारीअनुसार कम्पनीको सञ्चालक समिति उनलाई पुनः सीईओ नियुक्त गर्ने पक्षमा छैन। हुआङका प्रतिनिधिले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने हुआङप्रति समर्थन जनाउँदै आएका छन्। उनले हुआङले आफूलाई ती महिला चिनियाँ गुप्तचर हुन् भन्ने कुनै जानकारी नभएको बताएको र आफूले उनको भनाइमा विश्वास गरेको बताएका थिए। तर ट्रम्पको धारणा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको विचारभन्दा फरक छ। बेसेन्टले एनभिडियाको आगामी प्रमुख कार्यकारी कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्।

हुआङको व्यक्तिगत विवादसँगै एनभिडियाका चिप चीनसम्म पुग्न सक्ने सम्भावनालाई लिएर अमेरिकी अधिकारीहरूले थप चासो देखाएका छन्। सोमबार ट्रम्प प्रशासनले तेस्रो मुलुकका डेटा सेन्टरमार्फत चीनले अत्याधुनिक अमेरिकी एआई चिपमा पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्ने उद्देश्यले नयाँ निर्यात प्रतिबन्ध घोषणा गरेको छ।

नयाँ अन्तरिम नियमअनुसार सिंगापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र ब्राजिलमा अत्याधुनिक चिप निर्यात गर्न अमेरिकी अनुमति लिनुपर्नेछ। अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार तेस्रो मुलुकमा रहेका डेटा सेन्टरमार्फत रिमोट कम्प्युटिङको सुविधा प्रयोग गरी अमेरिकी प्रविधिमाथिका प्रतिबन्ध छल्ने सम्भावना रोक्न यो व्यवस्था ल्याइएको हो।

अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा विश्वव्यापी नेतृत्व हासिल गर्ने प्रतिस्पर्धा चर्किरहेका बेला यो निर्णय आएको हो। यसै साता ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने कार्यक्रम छ।

हुआङको एलिस हुआङसँगको सम्बन्धले सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडसँग जोडिएका कारोबारमाथि पनि प्रश्न उठाएको छ। एलिस हुआङ उक्त कम्पनीकी पूर्व निर्देशक रहेको बताइएको छ।

सिंगापुर अन्तर्राष्ट्रिय प्रविधि तथा व्यापारिक कम्पनीहरूको प्रमुख केन्द्र हो। एनथ्रोपिक, ओपनएआई, गुगल, टिकटकको मातृ कम्पनी बाइटडान्स र टेन्सेन्टजस्ता कम्पनीहरूले त्यहाँ कार्यालय स्थापना गरेका छन्।

एनभिडियाको गत वर्षको विश्वव्यापी बिक्री कारोबारमध्ये सिंगापुर दोस्रो ठूलो बिलिङ केन्द्र बनेको थियो। कम्पनीको कुल आम्दानीको झन्डै पाँच भागको एक भाग सिंगापुरबाट बिलिङ भएको थियो। तर तीमध्ये वास्तविक रूपमा सिंगापुर प्रवेश गरेका चिपको हिस्सा करिब दुई प्रतिशत मात्रै रहेको बताइएको छ।

सिंगापुरलाई एसियाली कम्पनीहरूले चिप खरिद तथा अन्य मुलुकमा पठाउन प्रयोग गर्ने व्यापारिक केन्द्रका रूपमा लिने गरिएको छ। यस्तो व्यवस्थामार्फत अमेरिकी निर्यात प्रतिबन्ध उल्ल‌ंघन भएको हुन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।

अमेरिकाले अत्याधुनिक सेमिकन्डक्टरलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्दै आएको छ। यी चिप एआई मोडल विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। अमेरिकी अधिकारीहरूको चिन्ता चीनले यस्ता प्रविधि प्राप्त गरेमा उसको अर्थतन्त्र र सैन्य क्षमतामा समेत सहयोग पुग्न सक्ने भन्ने छ।

हुआङले भने चीनमा एआई चिपको बजार भविष्यमा ५० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गर्दै चीनमा चिप बिक्रीमा लगाइएका व्यापक प्रतिबन्धको विरोध गर्दै आएका थिए। सन् २०२५ मा उनको पटकपटकको लबिइङपछि एनभिडियाले चीनमा केही उन्नत एआई चिप बिक्री गर्न अनुमति पाएको थियो।

हुआङले अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको हो वा होइन भन्ने विषयमा अमेरिकी संसद्को प्रतिनिधिसभाअन्तर्गतको चीनसम्बन्धी विशेष समितिसहित विभिन्न निकायमा बयान दिन सहमति जनाएका छन्।

ट्रम्पले भने हुआङका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको आफूलाई नलागेको बताएका छन्। उनले हुआङ र एलिस हुआङबीचको सम्बन्धबारे एफबीआईले पनि अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

एलन मस्कले हुआङको राजीनामापछि एनभिडियाले महत्त्वपूर्ण व्यावसायिक सम्झौताहरू गुमाउन सक्ने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्,‘एनभिडियाको आपूर्ति शृङ्खला सञ्चालनमा जेन्सेन निकै कुशल थिए। तर तीमध्ये धेरै सम्झौता लिखित करारभन्दा पनि जेन्सेनसँगको व्यक्तिगत समझदारीमा आधारित थिए।’

उनले हुआङको अनुपस्थितिमा केही महत्त्वपूर्ण सम्झौता गुम्न सक्ने बताएका छन्। ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले भने हुआङलाई पुनः नेतृत्वमा फर्काउने विषयमा सीधा प्रतिक्रिया दिन चाहेनन्। उनले हुआङलाई आफ्नो प्रेरणाको स्रोतका रूपमा व्याख्या गरेका छन्। सन् २०२३ मा आफैँ पदबाट हटाइएपछि पुनः जिम्मेवारीमा फर्किएका अल्टम्यानले हुआङको प्रशंसा गरेका हुन्।

एनभिडियाका सेयरधनीहरूले पनि हुआङलाई पुनः नेतृत्वमा फर्काउन माग गरेका छन्। उनको राजीनामापछि कम्पनीको बजार मूल्यमा सयौँ अर्ब डलरले गिरावट आएको बताइएको छ। यद्यपि कम्पनीको कुल बजार मूल्य करिब ३.८७ ट्रिलियन अमेरिकी डलर रहेको छ।

अल्टिमिटर क्यापिटलका संस्थापक ब्राड गर्स्टनर र एट्रिडिज म्यानेजमेन्टका प्रमुख ग्याभिन बेकरले सञ्चालक समितिलाई लेखेको खुला पत्रमा हुआङको सम्भावित पुनरागमनसहित सबै विकल्प खुला राख्न आग्रह गरेका छन्।

बेलायतको हाउस अफ लर्ड्सका सदस्य लर्ड सरफराजले पनि एनभिडियाका नयाँ अध्यक्ष हार्भे जोन्सलाई पत्र लेख्दै अनुसन्धानपछि हुआङलाई पुनः नेतृत्वमा फर्काउने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका छन्।

प्रकाशित: १ मंसिर २०८३ ११:३८ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast