माध्यमिक तहको लाइसेन्स खुल्यो, यी योग्यता पुगेकाले दिन पाउनेछन् परीक्षा

हिमाल प्रेस १ मंसिर २०८३ १०:४१ | Tuesday, November 17, 2026
माध्यमिक तहको लाइसेन्स खुल्यो, यी योग्यता पुगेकाले दिन पाउनेछन् परीक्षा

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ। आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रसम्बन्धी विज्ञापन प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारबाट अनलाइन आवेदन माग गरेको हो।

आयोगका अनुसार आवेदन आगामी मंसिर ९ गतेदेखि खुला हुनेछ। नियमित दस्तुरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म फाराम भर्न सकिनेछ।

आवेदन दिनका लागि उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ। परीक्षाका लागि आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। परीक्षा लिखित तथा वस्तुगत प्रकृतिको हुनेछ। परीक्षा सञ्चालन हुने मिति र समय भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ।

अध्यापन अनुमतिपत्रका लागि शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ९ बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पूरा गरेको हुनुपर्नेछ।

आयोगका अनुसार विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन तथा बाली विज्ञान विषयमा स्नातक गरेका उम्मेदवारले तालिम नलिएको भए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन सक्नेछन्। यीबाहेक अन्य विषयका लागि तोकिएको तालिम अनिवार्य गरिएको छ।

नेपाली नागरिक नभएका, १८ वर्ष उमेर नपुगेका, मगज बिग्रेका, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका तथा भविष्यमा सरकारी वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका व्यक्ति आवेदनका लागि अयोग्य हुने आयोगले स्पष्ट पारेको छ।

त्यस्तै, नियमावलीअनुसार आवश्यक शैक्षिक योग्यता नपुगेका र तोकिएको तालिम नलिएका उम्मेदवारले आवेदन दिन पाउने छैनन्।

इच्छुक उम्मेदवारले आयोगको आधिकारिक वेबसाइट [https://license.tsc.gov.np](https://license.tsc.gov.np) मा गएर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका क्रममा नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र, तालिमको प्रमाणपत्र तथा आवश्यकताअनुसार समकक्षता प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्नेछ।

आवेदन दस्तुर राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडमार्फत बैंक भौचर तथा कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई पेबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

आयोगले आवेदन फाराम भर्दा व्यक्तिगत विवरण र अपलोड गरिएका कागजात सही भए/नभएको यकिन गरेर मात्र अन्तिम रूपमा पेस गर्न आग्रह गरेको छ। विवरण वा कागजातमा त्रुटि भेटिएमा आवेदन रद्द हुन सक्ने आयोगले जनाएको छ।

लिखित परीक्षा सबै प्रदेशमा एकै दिन र एकै समयमा सञ्चालन हुने भएकाले उम्मेदवारले आवेदन फाराममा आफू सहभागी हुन चाहेको एउटा प्रदेश मात्र छनोट गर्नुपर्नेछ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित: १ मंसिर २०८३ १०:४१ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast