यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा आयोजित ‘नेशनल फेस्टिभल अफ टोलरेन्स २०२६’ मा नेपाली दूतावास सम्मानित भएको छ।
नेपाली समुदायको सहभागिता तथा महोत्सवमा पुर्याएको योगदानको कदर गर्दै यूएईका सहिष्णुता तथा सहअस्तित्वमन्त्री शेख नह्यान बिन मुबारक अल नह्यानले दूतावासलाई सम्मान गरेका हुन्। सम्मानपत्र यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ग्रहण गरे।
सम्मानपत्र ग्रहणपछि नेपाली समुदायसँग खुसी साट्दै राजदूत क्षेत्रीले यूएईमा रहेर नेपाली कला, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समुदायले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त सम्मान सिंगो नेपाली समुदायप्रति समर्पित रहेको बताए। महोत्सवमा सक्रिय सहभागिता जनाउने विभिन्न देशका दूतावासलाई समेत सम्मान गरिएको थियो।
अबुधाबीस्थित उम्म अल इमारात पार्कमा आयोजित महोत्सवको यो आठौँ संस्करण हो। ‘एकतामा समृद्धि’ भन्ने मूल नारासहित नोभेम्बर १३ देखि १५ सम्म सञ्चालन भएको महोत्सवको उद्घाटन मन्त्री शेख नह्यानले गरेका थिए। महोत्सवले सहिष्णुता, सहअस्तित्व, सांस्कृतिक विविधता र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
महोत्सवमा एसिया, युरोप तथा अफ्रिकालगायत विभिन्न क्षेत्रका देशका कूटनीतिक नियोगहरूले आआफ्नो राष्ट्रिय पहिचान, कला र संस्कृति झल्काउने प्रदर्शनी स्टल राखेका थिए।
महोत्सवको उद्घाटनपछि मन्त्री शेख नह्यानले नेपालसहित विभिन्न देशका प्रदर्शनी स्टलहरूको अवलोकन गरेका थिए नेपालको स्टलमा नेपाली हस्तकला, मूर्तिकला, प्राकृतिक सौन्दर्य, पर्यटकीय गन्तव्य, भौगोलिक विविधता तथा मौलिक नेपाली सामग्रीहरू प्रदर्शन गरिएको थियो।

विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञ, यूएईका सरकारी अधिकारी, पर्यटन व्यवसायी, विद्यार्थी तथा नेपालका शुभेच्छुकहरूले नेपालको स्टल अवलोकन गर्दै विशेष चासो व्यक्त गरेका थिए।
महोत्सवको अन्तिम दिन आइतबार नेपालले विशेष सांस्कृतिक प्रस्तुति दिएको थियो। नेपाल आदिवासी जनजाति महासंघ, यूएई र तामाङ समाज, अबुधाबीको सहकार्यमा नेपाली जातीय तथा क्षेत्रीय परम्परा, मौलिकता र सांस्कृतिक विविधता झल्काउने सामूहिक नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।
त्यस्तै, नेपालको पर्यटन स्टलमा बालबालिका तथा परिवारलाई लक्षित गरी चित्रकला लगायतका सिर्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो।
महोत्सवमा नेपालको सहभागिताले नेपाल-यूएईबीचको जनस्तरको सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याएको राजदूत क्षेत्रीले हिमालप्रेससँगको कुराकानीमा बताए।
नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको मौलिक कला, सांस्कृतिक विविधता, पर्यटन सम्भावना र राष्ट्रिय पहिचानलाई थप प्रवर्द्धन गर्न सहयोग पुगेको उनको भनाइ छ।




