जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा छलफल र सहमति आवश्यक रहेको बताएका छन्।
सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आज सोमबारदेखि सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै सभापति लामिछानेले संघीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए।
संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ।
सभापति लामिछानेले संघीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको बताए।
‘संघीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,’ सभापति लामिछानेले भने,‘सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ।’
सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताए।
कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने भनाइ राखे।
राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप मजबुत बनाउन यस्ता पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उनले मेची-महाकाली यात्राले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताए।
त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची-महाकाली पदयात्रा सुरु गरेको बताए।



