बिरालोको खानाको प्याकेटमा २२ करोडको सेतो हेरोइन,भारतीय नागरिक विमानस्थलबाटै पक्राउ

हिमाल प्रेस २९ कार्तिक २०८३ १८:३७ | Sunday, November 15, 2026
बिरालोको खानाको प्याकेटमा २२ करोडको सेतो हेरोइन,भारतीय नागरिक विमानस्थलबाटै पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीले साढेपाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले साढेपाँच किलो सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागुऔषध ओसारपसारमा सङ्लग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले पक्राउ परेका तिघारे लागुऔषध कारोबारको अन्तरराष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए।

उनका अनुसार प्रहरीले जाँचका क्रममा निजले साथमा ल्याएको लगेजभित्र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको उक्त मात्राको सेतो हेरोइन बरामद गरेको हो।

बरामद गरिएको हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम रु ४० हजारका दरले करिब रु २२ करोड पर्ने ब्यूरोले जनाएको छ। उक्त हेरोइन भारत पुर्‍याएपछि त्यहाँको बजारमा अझै महँगो मूल्यमा बिक्री हुने गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले बताए।

पक्राउ परेका तिघारे यसअघि पनि लाओस हुँदै नेपाल दुई पटक आएका र नेपालबाट भारतसम्म लागुऔषध पुर्‍याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट मेकानिकल इञ्जिनियरिङको प्रमाणपत्रसमेत बरामद गरेको छ।

तिघारेलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। उक्त ऐनअनुसार बरामद लागुऔषधको परिमाण र कसुरको प्रकृतिका आधारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १८:३७ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast