मधेसमा कांग्रेस नेतृत्वको सरकार जोगाउन हरसम्भव प्रयास गर्छौं : महामन्त्री पौडेल

हिमाल प्रेस २७ कार्तिक २०८३ १३:४९ | Friday, November 13, 2026
मधेसमा कांग्रेस नेतृत्वको सरकार जोगाउन हरसम्भव प्रयास गर्छौं : महामन्त्री पौडेल

जनकपुरधाम- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकार जोगाउन हरसम्भव राजनीतिक प्रयास गर्ने बताएका छन्।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिलाउन सक्दो प्रयास गर्ने बताएका हुन्।

पौडेलले मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सन्दर्भमा पार्टी सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेको जानकारी दिए।

‘हाम्रो सभापतिज्यूले एमाले अध्यक्षसँग केही दिनअघि छलफल गर्नुभएको थियो। त्यो छलफल कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन सकिन्छ भन्ने सन्दर्भमै केन्द्रित थियो,’ पौडेलले भने,‘हामीले प्रयास गर्ने हो तर सरकार बनाउनकै लागि जे सुकै गर्नुपर्छ भन्ने होइन।’

कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन बनाउनुको विकल्प नरहेको बताउँदै उनले सरकारको निरन्तरताका लागि अन्य दलहरूसँग पनि छलफल चलिरहेको उल्लेख गरे।

‘मधेसमा गठबन्धनविना सरकार बनाउन सम्भव छैन,’ उनले भने,‘बहुमतको संख्या पुर्‍याउन उपेन्द्रजीहरूसँग पनि छलफल चलिरहेको छ।’

महामन्त्री पौडेलले वालेन्द्र शाह नेतृत्वको सरकार विधि पद्धतिविपरीत चलिरहेको आरोप लगाए। ‘जनताले यो सरकारमाथि ठूलो विश्वास गरेको छ,’ उनले भने,‘तर सरकार भने विधि पद्धतिविपरीत सञ्चालन भइरहेको छ।’

पौडेलले गलत कामबारे प्रश्न उठाउँदा सरकार कांग्रेसमाथि धावा बोल्न खोजेको आरोप लगाउँदै पार्टी सभापतिमाथि पछिल्लो समय लगाइएको  आरोप त्यसकै कडी रहेको पनि बताए।

उनले सरकार कांग्रेस पार्टीभित्र खेल्न खोजेको जिकिर गरे। महामन्त्री पौडेलले पार्टीको आधिकारिकतासम्बन्धी सवालमा लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिए।

प्रकाशित: २७ कार्तिक २०८३ १३:४९ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast