अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।फाइल तस्बिर
खार्तुम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताइरहेका बेला इरानले भने स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना सर्त पूरा गर्नुपर्ने अडान दोहोर्याएको छ।
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न कतार र पाकिस्तानले कूटनीतिक पहल अघि बढाइरहेका छन्। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि युद्ध सुरु भएको थियो।
इरानले अमेरिकाले आफ्ना माग सम्बोधन गरेमा युद्ध सुरु भएदेखि बन्द रहेको विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज दुई दिनभित्र खुला गर्न सकिने जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सरकारी समाचार संस्था इर्नासँगको कुराकानीमा सैन्य कारबाही र थप प्रतिबन्धले द्वन्द्व समाधान नहुने बताए। इरानका माग सम्बोधन गर्दै कूटनीतिक वार्तामार्फत समाधान खोज्नु नै उपयुक्त विकल्प भएको उनको भनाइ थियो।
इरानले युद्धका सबै मोर्चामा द्वन्द्व अन्त्य गर्नुपर्ने, रोक्का राखिएका आफ्ना सम्पत्ति फुकुवा गर्नुपर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने तथा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त अघि सारेको छ।
यसअघि सोमबार कतारका प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताएका थिए। मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि वासिङ्टनले इरानमाथि पुनः आक्रमण गर्ने धम्की कम गरेको देखिएको छ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू यथास्थिति कायम राख्न चाहेकाले थप आक्रमणको सम्भावना न्यून रहेको बताएका थिए। अमेरिकी हित सुरक्षित राख्दै युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक गति देखिएको उनको भनाइ थियो।
कतारको विदेश मन्त्रालयका अधिकारी इब्राहिम अल–हास्मीले पनि वार्तामा प्रगति भइरहेको बताएका छन्। मध्यस्थकर्ताहरूले दुवै पक्षका अडानबीचको दूरी कम गर्न निरन्तर प्रयास गरिरहेको र आफूहरू वार्ताको परिणामप्रति आशावादी रहेको उनले बताए।
इरानी राजनीतिक विश्लेषक अली बिगदेलीले अमेरिकी मध्यावधि निर्वाचनपछि वासिङ्टन वार्ताका लागि केही लचिलो देखिएको बताए। इरानका माग अमेरिकाका लागि स्वीकार गर्न कठिन रहेको उनको भनाइ थियो। दुवै देशबीचको गहिरो अविश्वासका कारण समस्या समाधान जटिल बनेको उनले उल्लेख गरे।
यसैबीच, इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानका माग स्वीकार गरेर युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
युद्ध पुनः सुरु हुन सक्ने आशंकाले खाडी क्षेत्रका राष्ट्रहरू पनि चिन्तित देखिएका छन्। संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले कूटनीतिक समाधानमार्फत खाडी क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरे। तर, लामो समयसम्म अनिश्चितता कायम रहे निर्णायक समाधान र क्षेत्रीय स्थिरता दुवै प्रभावित हुने उनले चेतावनी दिए।
यसैबीच, साउदी अरबको राजधानी रियादमा विस्फोटका आवाज सुनिएका छन्। साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै निष्क्रिय पारेको जनाएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्धको सैन्य अभियान अझै पूरा नभएको बताएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएका छन्।



