युरोपका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

हिमाल प्रेस २५ कार्तिक २०८३ १९:४९ | Wednesday, November 11, 2026
8
SHARES
युरोपका सयौँ विद्यालयमा बम विस्फोटको धम्की बम विस्फोटको चेतावनीका कारण विद्यालय खाली गराइएपछि रोमस्थित ट्राजन फोरम नजिक भेला भएका विद्यार्थी। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इटाली, स्कटल्यान्ड, आयरल्यान्ड र उत्तरी आयरल्यान्डका सयौँ विद्यालयमा बम विस्फोट गराउने धम्की आएको युरोपेली सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। युरोपको जनजीवन अस्तव्यस्त पार्ने उद्देश्यले गरिएको पछिल्लो समन्वित आक्रमणका रूपमा यी घटनालाई हेरिएको छ।

इटालीको शिक्षा मन्त्रालयका अनुसार तीन सयभन्दा बढी विद्यालयमा विस्फोट हुन लागेको चेतावनीसहितका इमेल प्राप्त भएका थिए। त्यसपछि हजारौँ विद्यार्थीलाई कक्षाकोठाबाट हतारहतार बाहिर निकालिएको थियो।

आयरल्यान्ड, उत्तरी आयरल्यान्ड र स्कटल्यान्डका दर्जनौँ विद्यालयले पनि यस्तै धम्की पाएका थिए। तीमध्ये केही विद्यालय खाली गराइएका थिए। सम्बन्धित सबै देशका अधिकारीले ती धम्कीलाई झुटो सूचना ठहर गरेका छन्।

विमान कम्पनी र विमानस्थलमा विमानभित्र विस्फोटक पदार्थ लुकाइएको चेतावनीसहितका यस्तै दुर्भावनापूर्ण सन्देश आएपछि युरोपका दर्जनौँ उडानलाई आकस्मिक अवतरण गर्न बाध्य पारिएको एक सातापछि यी धम्की आएका हुन्।

युरोपेली गुप्तचर निकायहरू विमान कम्पनीलाई दिइएका झुटा धम्कीका दोषी पत्ता लगाउन सीमापार समन्वयमा जुटिसकेको समाचारमा उल्लेख छ। यसमा कुनै शत्रुतापूर्ण विदेशी राज्य वा विदेशी गुप्तचर निकायसँग सम्बन्धित कार्यकर्ता संलग्न हुन सक्ने उनीहरूको आशङ्का छ। तर यसका लागि जिम्मेवार पक्षबारे कुनै निष्कर्षमा पुगिएको छैन।

बमको धम्की सार्वजनिक हुँदा एउटा कार्यक्रममा सहभागी रहेका इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले बुधबार इमेलको यो लहर युरोपेली देशमा त्रास र अव्यवस्था फैलाउने अभियानको हिस्सा भएको बताएका छन्।

‘यो अहिले स्पष्ट भइसकेको एउटा रणनीतिको हिस्सा हो– त्रास फैलाउने वा चिन्ता सिर्जना गर्ने। यो काम निकै सजिलो छ’, क्रोसेटोले भनेका छन्।

धम्कीका पछाडि को जिम्मेवार हुन सक्छ भन्नेबारे उनले अड्कलबाजी गर्न चाहेनन्।

‘यो रणनीतिमा मूर्खहरू पनि संलग्न हुन्छन्’, क्रोसेटोले थपे, ‘यसका पछाडि सधैँ विदेशी देश वा शत्रुतापूर्ण समूहको रणनीति नै हुन्छ भन्ने छैन। यस्ता बेला कुनै सहर वा क्षेत्रमा त्रास फैलाउन आतुर हुने आत्मप्रशंसक र मानसिक रूपमा असन्तुलित व्यक्तिहरू पनि हुन्छन्।’

इटालीका शिक्षामन्त्री ज्युसेप्पे भाल्दिताराले भने सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेका छन्। उनले ला सेभेन टेलिभिजनसँग कुरा गर्दै यति धेरै विद्यालयलाई लक्षित गरी इमेल पठाइनुले बमको धम्की वास्तविक हुने जोखिम निकै कम रहेको बताए।

इटाली सरकारले देशभरका विद्यालयमा एउटा इमेल पठाइएको जनाएको छ। त्यसमा भनिएको थियो, ‘मिखाइल आन्द्रेपोभ, मिसोजिनिस्तानको नेता हुँ। हामी तिमीहरूलाई नष्ट गर्न आएका छौँ। हामी इटालीका जनताविरुद्ध नरसंहार गर्नेछौँ।’

इमेलमा थप भनिएको थियो, ‘मैले भर्खरै तिमीहरूको भवनभित्र प्लास्टिकको झोलामा रिमोटबाट विस्फोट गराउन सकिने शक्तिशाली विस्फोटक पदार्थ राखेको छु।’ सन्देश पठाउने व्यक्तिले प्रधानमन्त्रीको गाडीमा पनि बम राखेको दाबी गरेको थियो।

सुरक्षा अधिकारीहरूका अनुसार यस्ता इमेल तयार पार्न सजिलो हुन्छ र तिनको वास्तविक स्रोत लुकाउन पनि कठिन हुँदैन। यस्तो काम एक जना व्यक्ति, एकअर्कासँग सम्बन्ध नभएका धेरै व्यक्ति, अरूको नक्कल गर्ने व्यक्ति वा आफ्नै पक्षलाई दोषमुक्त देखाउन गरिएको झुटो आक्रमणको प्रयाससमेत हुन सक्छ।

गुप्तचर निकायका एक अधिकारीले उद्देश्य र विगतका घटनालाई आधार मान्दै गत साता विमान कम्पनीहरूलाई दिइएका धम्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक कार्यकर्ता संलग्न भएको सम्भावना विश्वसनीय रहेको बताए।

ती कार्यकर्ताहरूले यसअघि पनि बाल्टिक क्षेत्रका देशहरूमा विद्यालयसहित विभिन्न स्थानलाई लक्षित गरी झुटा बम धम्की दिने गरेको अभिलेख रहेको ती अधिकारीले बताए।

सन् २०२३ अक्टोबरमा लिथुआनियामा झुटा बम धम्कीको एउटा अभियान चलाइएको थियो। त्यस क्रममा एक हजार पाँच सय विद्यालय र बालउद्यानलाई निसाना बनाइएको थियो। लिथुआनियाका गुप्तचर निकायले ती धम्की रुसबाट आएको विश्वास गरेका छन्। यसै गर्मीयाममा पनि लिथुआनियाका विद्यालयलाई बम विस्फोटको धम्की दिइएको थियो।

इरानलाई पनि सम्भावित दोषीका रूपमा हेरिएको छ। पछिल्ला महिनामा उसका गुप्तचर निकायले युरोपका नागरिक तथा सार्वजनिक संरचनालाई लक्षित गरी अवरोध सिर्जना गर्ने गतिविधि बढाएका छन्।

सोमबार फ्रान्सेली अधिकारीहरूले अक्टोबरमा भएका शृङ्खलाबद्ध साइबर आक्रमणका लागि तेहरानलाई दोषी ठहर गरेका थिए। ती आक्रमणबाट सयौँ सुपरमार्केटमा शीतभण्डारमा राखिएका खाद्यवस्तु नष्ट भएका थिए। यसले खाद्य आपूर्ति शृङ्खलाको सुरक्षाबारे चिन्ता बढाएको थियो।

फ्रान्ससहित युरोपका विभिन्न देशमा पछिल्लो समय सामाजिक असन्तुष्टि र अशान्ति बढिरहेका बेला सुरक्षा अधिकारीहरूले आफ्नै देशभित्रका राजनीतिक कार्यकर्ता पनि संलग्न हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छैनन्।

स्कटल्यान्ड प्रहरीले बुधबार विद्यालयहरूलाई दिइएका धम्कीबारे भनेको छ, ‘यी धम्की बेलायत र उत्तरी आयरल्यान्डभरिका विभिन्न समूहमा व्यापक रूपमा पठाइएका छन्। हाम्रो मूल्याङ्कनमा यी विश्वसनीय खतरा होइनन्।’

उत्तरी आयरल्यान्डको शिक्षा मन्त्रालयले पनि ठूलो सङ्ख्यामा विद्यालयलाई अर्को धम्कीपूर्ण इमेल पठाइएको जनाएको छ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयहरूलाई दिइएका धम्कीबारे छलफल गर्न बुधबार अपराह्न आपत्कालीन बैठक बोलाएकी थिइन्। रक्षामन्त्री क्रोसेटोले भने यस घटनामा संलग्न व्यक्तिको पहिचान गर्न इटालीका सुरक्षा निकायले काम गर्ने बताएका छन्।

युरोपेली संघ (ईयू), बेलायत, युक्रेन, क्यानडा लगायतका देशका करिब ५० जना नेता बिहीबार सम्मेलनमा सहभागी हुन डब्लिन पुग्ने कार्यक्रम रहेको पूर्वसन्ध्यामा यी धम्की आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast