तिहारमा समानताको अनौठो अभ्यास, दक्षिणादेखि कोसेलीसम्म बराबर

हिमाल प्रेस २५ कार्तिक २०८३ १९:२२ | Wednesday, November 11, 2026
8
SHARES
तिहारमा समानताको अनौठो अभ्यास, दक्षिणादेखि कोसेलीसम्म बराबर

धनकुटा- धनकुटाको पाख्रीबास नगरपालिका-७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन्।

टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गर्दै तिहार मनाउने गर्छन्।

परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने यो परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो।

दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध आत्मीय र प्रगाढ बनाइराख्ने उद्देश्यले सामूहिक रूपमा तिहार मनाउने चलन सुरु गरिएको गहतराजले बताए। टोलमा रहेको सानो सामुदायिक घर सामूहिक तिहार मनाउने साझा थलो बनेको छ।

यस टोलमा तिहार मनाउँदा लाग्ने खर्च सबै घरपरिवारले बराबरी बाँड्ने गरेका छन्। दिदीबहिनीले पनि सबै दाजुभाइलाई एउटै प्रकारका कोसेली दिने चलन छ। भाइटीकामा दिदीबहिनीले दिने दक्षिणा पनि दाजुभाइले व्यक्तिगत रूपमा नराखी बराबरी बाँड्ने गरेका छन्।

कसैले बढी र कसैले कम पाउने अवस्था अन्त्य गरी सबै परिवारबीच समानता र आत्मीयता कायम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गहतराजको भनाइ छ।

सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सुनार टोलबाट बहुदलीय व्यवस्था पुन: स्थापनापछि दुई जना स्थानीय वडाध्यक्ष बनिसकेका छन्।

नगरपालिका स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा यसै टोलबाट एक जना दलित महिला सदस्य निर्वाचित भएकी थिइन्।

प्रकाशित: २५ कार्तिक २०८३ १९:२२ | Wednesday, November 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast