चितवन राइनोजलाई १० रनले हराउँदै काठमाडौँ गोर्खाज शीर्षस्थानमा

हिमाल प्रेस २३ कार्तिक २०८३ २०:५२ | Monday, November 9, 2026
चितवन राइनोजलाई १० रनले हराउँदै काठमाडौँ गोर्खाज शीर्षस्थानमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौँ गोर्खाज अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित ओभरमा लक्ष्य भेट्टाउन असफल भएपछि काठमाडौँले रोमाञ्चक जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर चितवनले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

काठमाडौँको सुरुवात भने कमजोर रह्यो। ओपनर डेभिड वार्नर र साहिल पटेललाई चार ओभरभित्रै १३ रनको अवस्थामा गुमाएको काठमाडौँ दबाबमा परेको थियो। वार्नर ६ बलमा १ रन बनाएर आउट हुँदा साहिलले १२ बलमा ८ रन जोडे। उनलाई रिजन ढकालले आउट गरेका थिए।

त्यसपछि रशिद खानले आक्रामक ब्याटिङ गर्दै काठमाडौँको इनिङ्स सम्हाले। उनले ३० बलमा २ चौका र ४ छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, विलियम बोसिस्टोले २२ बलमा २७ रन बनाए। उनले एक छक्का प्रहार गरे। सहान अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रनको योगदान दिए। कप्तान करण केसीले पनि २० रन जोडेपछि काठमाडौँले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। कप्तान सिकन्दर राजा र कमलसिंह ऐरीले समान २/२ विकेट हात पारे।

यस जितसँगै काठमाडौँ गोर्खाज एनपीएलको अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित: २३ कार्तिक २०८३ २०:५२ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast