काठमाडौँ- मोरङको जहदा गाउँपालिका–२, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्या गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार हिजो राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनमाथि उनकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्रले टाउकोमा रड प्रहार गरेका थिए। रड प्रहारबाट सोरेनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले घटनामा प्रयोग भएको रडसहित सुनिल मिश्रलाई नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेकी कमली बास्केलाई आज बिहान करिब ७:३० बजे खेतमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



