फाइल तस्बिर
काठमाडौँ- इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वसैन्य कमाण्डर तथा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका प्रमुख राजनीतिक विरोधी गादी आइजनकोटलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
राष्ट्रपति हर्जोगले राजनीतिक दलका नेताहरूसँगको लामो परमार्शपछि आइजनकोटलाई सरकार गठन गर्न आह्वान गरेका हुन्।
हर्जोगको यो कदमसँगै इजरायलमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ।
राष्ट्रपति हर्जोगको निर्णय सार्वजनिक हुनुभन्दा ठीक एक घण्टाअघि नेतन्याहुले भिडियो सन्देश जारी गर्दै कडा चेतावनी दिएका थिए। उनले विपक्षी र अरब दलहरुबीच बन्न सक्ने गठबन्धनले देशलाई गम्भीर संकटतर्फ लैजाने दाबी गरेका छन्।
नेतन्याहुले भनेका छन्,‘इस्लामवादीहरुसँग जोडिएको यस्तो सरकारले इजरायललाई भित्रैबाट विघटन गराउनेछ, जस्तो युरोपेली देशहरुमा भइरहेको छ। यसले त्योभन्दा पनि भयावह स्थिति सिर्जना गर्न सक्छ।’
को हुन् आइजेनकोट?
आइजेनकोटको जन्म इजरायलको तिबेरियास सहरमा भएको थियो। यदि उनी प्रधानमन्त्री बने भने उनी इजरायलको पहिलो मिजराही प्रधानमन्त्री हुनेछन्। मिजराही यहुदीहरुको सम्बन्ध मध्य पूर्व र उत्तरी अफ्रिकासँग छ। इजरायलको करिब आधा जनसंख्या यही समुदायबाट आउँछ।
आइजेनकोटले सन् १९७८ मा अनिवार्य सैन्य सेवाका क्रममा इजरायल डिफेन्स फोर्सेजको गोलानी बिग्रेडमा सामेल भई आफ्नो सैन्य जीवनको सुरुवात गरेका थिए।
उनी सन् १९९७ मा यी बिग्रेडको कमाण्डर बने। त्यसपछि सेनामा महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै उनी सन् २०१५ मा आईडीएफको चीफ अफ जनरल स्टाफ नियुक्त भए।
सेनाबाट अवकाश पाएपछि आइजेनकोटले राजनीनिमा कदम राखे र इजरायली संसदको सदस्य बने। ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि उनले नेतान्याहूको वार क्याबिनेटमा पनि ठाउँ पाएका थिए।
डिसेम्बर २०२३ मा गाजामा लडाइँका क्रममा उनका छोरा ग्यालको मृत्यु भयो। त्यसपछि उनले युद्धमै आफ्ना दुई भतिजाहरु पनि गुमाए।
आइजेनकोटले सेप्टेम्बर २०२५ मा आफ्नो मध्यमार्गी पार्टी याशर गठन गरे। हिब्रू भाषामा याशरको अर्थ ‘सिधा वा इमानदार’ हुन्छ।
उनले प्रधानमन्त्री बनेमा १८ महिनाभित्र हमासको सैन्य विङ र त्यसको नेतृत्वलाई समाप्त पार्ने संकल्प लिएका छन्।



