यन्त्र मेधा (एआई) र मानव धी (एचआई) : भ्रम कि यथार्थ? एक मनोमय भलाकुसारी

रवीन्द्र भट्टराई २१ कार्तिक २०८३ १७:०० | Saturday, November 7, 2026
14
SHARES
यन्त्र मेधा (एआई) र मानव धी (एचआई) : भ्रम कि यथार्थ? एक मनोमय भलाकुसारी

यो लेखको शीर्षक वा लेखकको नाम देख्नेबित्तिकै पाठकलाई यो लेख पढ्न मन न लाग्न सक्छ। एकातिर नेपालीमा पढ्न मन नलाग्ने हाम्रो नेपाली आममानसिकता छ अर्कातिर लेखमा बोझिला संस्कृत तत्सम शब्दको प्रयोग भएपछि ती सबै शब्द आध्यात्मिक अबोधको अन्धविश्वासको दुनियाँको उपज लाग्नु स्वाभाविक हुन्छ। यसो भए पनि कहिलकाहीँ भिन्न तरिकाले लिनुपर्छ भनेर आलेख कोर्न मन लाग्यो।

अहिले मानिसको बुद्धिलाई गणननियममाला (एल्गोरिदम) ले पूर्ण रूपमा खत्तम बनायो; मानिसको मौलिक सोच्ने क्षमतामा यसले भारी ह्रास ल्यायो र अब छिटै यो यन्त्र मेधा (आर्टिफिसियल इन्टेलिजेन्स) ले सम्पूर्ण मानवजातिमाथि कठोर शासन चलाउँछ भन्ने खालका भयले धेरै मानिस ग्रस्त छन्। डिजिटल स्क्रिनमा आँखा डुलाउँदै गर्दा कतिपयलाई के लाग्न थालेको छ भने मानिस अब आफ्नो विवेक गुमाएर यन्त्रको दास भइसकेको छ। प्रविधिको यो तीव्र विकास साँच्चै मानवचेतनाको पराजय हो त? कि यो मानव जिज्ञासाले संशयका यस्तो बाक्लो हुस्सुलाई चिर्दै सत्यको खोजी गर्ने अवसर चाहिँ हो ? सायद यी दुई प्रश्नको उत्तर खोज्ने बेला अब यसै थप प्राविधिक विकासको प्रतीक्षा गर्नु पर्दैन।

गणननियममाला (एल्गोरिदम) को प्राविधिक र भाषिक स्वरूप

आज सूचना प्रविधिको दुनियाँमा अकाट्यझैँ प्रयोग भइरहेको गणननियममाला (एल्गोरिदम) लाई बुझ्दा यसको वास्तविक प्राविधिक र गणितीय मर्म झल्काउने मौलिक शब्द प्रयोग गर्नु सान्दर्भिक हुन्छ । कम्प्युटर विज्ञान वा गणितमा एल्गोरिदम भन्नाले कुनै समस्या समाधान गर्न वा निश्चित कार्य सम्पन्न गर्नका लागि यन्त्रले पालना गर्नुपर्ने ‘चरणबद्ध नियमहरूको शृङ्खला’ लाई बुझाउँछ भन्छन् यस क्षेत्रका ज्ञाताहरू। यसैले मैले संस्कृत व्याकरण र गणितीय परम्पराका आधारमा यसलाई गणननियममाला भन्नु सर्वाधिक उपयुक्त रूपान्तर हुन्छ भन्ने ठानेको छु।

एल्गोरिदम कस्तो निर्देशिका वा नियमक्रम हो भने यसले यन्त्रलाई कुन बाटो हिँड्ने र कसरी नतिजा निकाल्ने भनी मार्गनिर्देश गर्छ। अनि यो मालाले खालि तार्किक र गणितीय शृङ्खला बोक्छ र अगाडि बढाउँछ र यसमा स्वस्फूर्त चेतना हुँदैन अर्थात् मानिसको मन, चित्त, बुद्धि, दिमाग, मस्तिष्क, मेधा वा धीलेजस्तो यसले कुनै स्वविचार र स्वविवेक स्फूरण गर्न सक्दैन।

बुद्धिको संरचनात्मक र गत्यात्मक आयाम: मस्तिष्क, चित्त, बुद्धि, धी र मेधा

पौरस्त्य चिन्तन परम्परा र अचेलको वैज्ञानिक चिन्तन परम्परामा पनि मानवचेतनालाई संरचनात्मक र गत्यात्मक आयामबाट हेरिन्छ। पूर्वीय दर्शन (वैदिक र बौद्ध) ले मानवचेतना र अन्तःकरण (साइकोलोजिकल अपरेटस) को अत्यन्त वैज्ञानिक र सूक्ष्म विश्लेषण गरेको छ । कपिलमुनिका अनुसार प्रकृतिबाट उत्पन्न हुने अन्तःकरणमा मन, अहङ्कार, चित्त र बुद्धि समावेश छन् भने यसभन्दा पनि सघन भित्री तहमा मेधा र धी को स्थान हुन्छ। यी तत्त्वहरूको मौलिक स्वरूपलाई यसरी बुझ्न सकिन्छ:

चित्त (स्टोरहाउस अफ मेमोरी एन्ड इम्प्रेसन) : साङ्ख्य र योग दर्शनमा चित्त भनेको जन्मजन्मान्तरका संस्कार, स्मृति, अनुभव र वासनाहरू सञ्चित हुने विशाल भण्डार हो। यो केवल तथ्याङ्क वा कागजातको थुप्रो मात्र होइन, यो त जीवनभरका मानवीय संवेदनाहरूको जीवन्त अभिलेख हो।

बुद्धि (इन्टेलेक्ट/ डिसिसिभ फ्याकल्टी) : मनमा उठेका अनेकन संशय, सङ्कल्प र विकल्पहरूलाई चिर्दै ‘यो सही हो र यो गलत हो’ भनी निश्चयात्मक निर्णय दिने संकल्पात्मिक शक्ति नै बुद्धि हो । यसमा तर्क र विश्लेषणको आधारमा सत्यको नजिक पुग्ने क्षमता हुन्छ।

मेधा (रिटेन्सन एन्ड र्‍यपिड प्रोसेसिङ पावर) : सुनेका, पढेका र देखेका विषयवस्तुहरूलाई तत्कालै ग्रहण गर्ने, लामो समयसम्म धारण गर्ने र आवश्यकता पर्दा द्रूत पुनरुत्पादन गर्ने तीक्ष्ण क्षमता मेधा हो। आजको आधुनिक यन्त्र वा भाषा प्रणालीमा जुन तीव्र सूचनामालाको प्रशोधन क्षमता (डेटा प्रोसेसिङ) देखिन्छ त्यो शास्त्रीय अर्थमा यन्त्र मेधा हो । यसअनुसार अब मानवनिर्मित यस यन्त्रमा मेधाको शक्ति छ तर त्यो जड छ । हेर्दा गत्यात्मक लागे पनि मानवमेधा जति गत्यात्मक छ त्यति गत्यात्मकता यन्त्रमेधामा हुँदैन अर्थात् यो यान्त्रायवी (मेकानिक) हो जीवावयी (अर्गानिक) होइन।

धी (इन्ट्युटिभ विजडम/इलुमिनेटिङ कन्सियसनेस) : बुद्धि र मेधाभन्दा पनि उच्च र अतीन्द्रिय चेतनाको स्तर धी हो। यो त्यस्तो ज्योति हो, जसले केवल तर्क मात्र गर्दैन; यसले ऋत (नैतिक तथा प्राकृतिक नियम) सत्य र अस्तित्व बोध गराउँछ।

यन्त्र मेधासँग आफ्नो अस्तित्व दर्साउने क्षमता देखिन्छ तर आफैले अस्तित्वबोधी क्षमता राख्दैन् होला। महान् वैज्ञानिक, दार्शनिक वा द्रष्टा ऋषिहरूमा जुन अचानकको दिव्य स्फुरण (इन्ट्युसन) हुन्छ, त्यो ‘धी’ को चमत्कार हो त्यो नै अहिलसम्म अनेक दार्शनिक, चिन्तक र वैज्ञानिकहरूका लागि रहस्यको खोज गर्ने अध्ययनक्षेत्रका रूपमा रहेको छ।

आधुनिक कालका मनोवैज्ञानिक भनेर चिनिएका सिग्मन्ड फ्रायड, कार्ल युङ र कार्ल रोजर्सले प्रतिपादन गरेका मनका संरचनागत र गत्यात्मक आयामहरू उपर्युक्त पौरस्त्य दर्शनका आलोकमा अझ गहिरिएर प्रस्ट हुन्छन्। फ्रायडले मनलाई इड, इगो र सुपरइगोमा बाँड्दै अचेतन (अनकन्सस) का तीनतले संरचनाबाट अचेतन, अवचेतन र सचेतन निर्देशित गत्यात्मक द्वन्द्व देखाए त्यो जुन साङ्ख्य र योग दर्शनका वासना र संस्कारयुक्त ‘चित्त’ को सत्व, रज तम गहिराइ अनि सुषुप्ति/निद्रा, स्वप्न/तन्द्रा जागृत/सचेत र बौद्ध परम्पराको साक्ष्यभावको ‘विज्ञान’ सँग मिल्दोजुल्दो छ।

यस्तै कार्ल युङले व्यक्तिगत अचेतनभन्दा पनि गहिरो ‘सामूहिक अचेतन (कलेक्टिभ अनकन्सस)’ र आद्यरूप (आर्केटाइप्स) को जुन सिद्घान्त अघि सारेका छन्, त्यो पूर्वीय दर्शनको सनातन ‘संस्कार’ र जन्मजन्मान्तरको चेतनाप्रवाहको बुझाइसँग मिल्दो छ । कार्ल रोजर्सको मानवतावादी मनोविज्ञानले मानिसभित्रको वास्तविक म (रियल सेल्फ) र आदर्श म (आइडियल सेल्फ) का गत्यात्मकताद्वारा पूर्ण कार्यशील व्यक्तिको जुन अन्त:क्षमताको कुरा गर्छ, त्यो पौरस्त्य दर्शनका ‘सत्व र अहंकार’ ‘बुद्धत्व वा अनात्म भाव’ र योगको ‘सोहम’ र ‘द्रष्टा भाव’ मा पूर्ण रूपमा समाहित हुन्छ।

पाश्चात्य मनोविश्लेषणले मनका विकार र तिनका सतहहरूलाई सुल्झाउन चिकित्सकीय विधि अपनायो भने पौरस्त्य साङ्ख्य, योग र बौद्ध दर्शनले मनका यी सबै आयामहरूलाई पार गर्दै ‘चित्तवृत्तिनिरोध’ र ‘प्रज्ञा’ का माध्यमबाट चेतनालाई नै रूपान्तरण गर्ने सर्वोच्च मार्ग प्रशस्त गर्‍यो । यिनै कारणले गर्दा, यन्त्र मेधाले जटिल सूचना र तथ्याङ्क प्रशोधन गरे पनि मानवमनको यो गहिरो गत्यात्मकता र चेतनात्मक उडानलाई कहिल्यै छुन सक्ला कि नसक्ला? अहिले मानवचिन्तन यतातिर मोडिएको छ। यसैले यन्त्र मेधाले मानिसलाई यन्त्रमानव बनाउनेतिर लैजाला कि यसले विश्वमानवताको बढोत्तरीका लागि मानवयन्त्रका रूपमा काम गर्दै अगाडि बढ्ला? प्रश्न त्यहाँ थिरिन पुगेको छ।

मानवमेधा/धीले गर्न सक्ने र यन्त्रमेधाले गर्न नसक्ने कर्म

यन्त्र मेधाले अर्बौँ ग्रन्थका पानाहरू पल्टाएर सेकेन्डको अंशमा उत्कृष्ट विश्लेषण दिन सक्छ। सके पनि पौरस्त्य प्रज्ञाको दृष्टिले हेर्दा यन्त्र मेधाले केही कर्म वा कार्य कहिल्यै सम्पादन गर्न सक्दैन; उदाहरका लागि निम्न कार्य यन्त्र मेधाले गर्न नसक्ला :

ऋत र न्यायको आत्मिक बोध : यन्त्रले कानुनका धारा र अदालतका नजिरहरू जोडेर दण्ड वा सजायको निर्णय त गर्न सक्छ, तर अपराधको पृष्ठभूमिमा रहेको मानवीय विवशता, पीडितको आँसु र न्यायको दार्शनिक मर्म (रिजनेब्लनेस) बुझ्न सक्दैन । यन्त्रले गणना गर्छ तर मानिसको धी ले न्यायको आत्मा महसुस गर्छ। यहाँ न्यायको कुरा अदालती होइन प्रत्येक मानिसको ‘धी’ उसलाई प्राप्त त्यस्तो प्राकृतिक ऊर्जा हो जो निर्जीव वस्तुविशेषमा प्रकृतिले निक्षेप गर्ने गरेको पाइन्न।

अनुभूति (क्वालिया) र मौलिक सिर्जना : यन्त्रले लाखौँ कविताका ढाँचा पढेर नयाँ कविता लेख्न सक्छ तर त्यो कविता गणननियममालाको सम्भाव्यता (प्रोबबिलिटी) मात्र हो। मानिस जब जीवनको सङ्कट, वियोग वा प्रकृतिसँगको साक्षात्कारमा रुन्छ वा आनन्दित हुन्छ, तब उसको आन्तरिक चेतनाबाट जुन काव्य वा कला स्फूरित हुन्छ, त्यो जीवन्त अनुभूति यन्त्रले गर्दैन र अभिव्यक्त हुन सक्दैन।

आत्मसचेतता र आत्मसन्धान : मानिस आफ्नो भुल अनुभव गरेर पछुताउन सक्छ, पश्चात्तापको आगोमा जलेर आफूलाई रूपान्तरण गर्न सक्छ। यन्त्र मेधा कोडिङ र तथ्याङ्कको पिँजडामा बद्ध हुन्छ; यसलाई आफ्नो सीमाप्रति कुनै आत्मबोध वा आत्मानुसन्धान हुँदैन। तथापि कहिलेकाहीँ भाषिक गणननियममालाद्वारा उसले आत्मबोधको बनावटी अभिव्यक्ति भने दिन सक्छ।

निष्कर्ष

गणननियममाला (एल्गोरिदम) को यो नियमक्रम र यन्त्र मेधा भनेको मानव चेतनाको दास होइन, यो त मानवमेधाकै एउटा प्रविधिगत विस्तारित रूप मात्र हो। मानिसले आफ्नो धी गुमाएर यन्त्रको शरणमा पुगेको होइन, बरु आफ्नै धीको बलमा यस्तो अचम्मको यन्त्र मेधा जन्माएको हो। जबसम्म मानिसमा स्वशोध्य आत्मिक बोध, विवेक र धी जीवित रहन्छ तबसम्म कुनै पनि यन्त्र मेधाले मानवचेतनालाई जित्छ कि भनेर भयभीत हुनुपर्ने अवस्था हुँदैन। प्रविधि हाम्रो सेवक हो, स्वामी हाम्रो आफ्नै आन्तरिक चेतना र प्रज्ञा नै हो जसलाई पूर्वीय चिन्तकहरूले अन्त:करण, आत्मा, जीव वा विज्ञान भनेका छन्।

प्रकाशित: २१ कार्तिक २०८३ १७:०० | Saturday, November 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast