बुटवल- बुटवलमा शुक्रबारदेखि सडक खाना महोत्सव’ सुरु भएको छ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल ८ सुख्खानगरस्थित शुक्रपथमा महोत्सव सुरु गरिएको हो।
महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सहरको आर्थिक विकासमा स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
उनले बुटवलको व्यापार, व्यवसाय र आर्थिक गतिविधिलाई चलायमान बनाउन उपमहानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उल्लेख गरे।
औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थानीय सरकार फरक सोच र प्राथमिकतासहित अघि बढेको बताउँदै उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापना र बुटवल १५ मा कृषि उपज केन्द्र निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए।
यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले महोत्सवले बजार चलायमान गराउने विश्वास व्यक्त गरिन्। बुटवल उपमहानगरपालिका संरक्षक रहेको दीपावली सडक खाना महोत्सव यहि कात्तिक २२ गतेसम्म अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने छ।
महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल राखिएको छ।
महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।
संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
उनले महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको पनि बताए।
महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन्। महोत्सवको पहिलो दिन कार्यक्रम उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेको छ। दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ।



