एनपीएलमा आज : कर्णाली र सुदूरपश्चिमको भिडन्त पहिलो खेलमा, दोस्रोमा चितवन र पोखराको भेट

हिमाल प्रेस २० कार्तिक २०८३ ६:५६ | Friday, November 6, 2026
एनपीएलमा आज : कर्णाली र सुदूरपश्चिमको भिडन्त पहिलो खेलमा, दोस्रोमा चितवन र पोखराको भेट

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले टोलीहरूको प्लेअफ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ । शुक्रबारको पहिलो खेलमा समान ४ अंक बनाएका कर्णाली र सुदूरपश्चिमबिच प्रतिस्पर्धा हुनेछ। तर कर्णालीले एक खेल कम खेलेको छ ।

दोस्रो खेलमा भने चितवन र पोखरा जितको खोजीमा हुनेछन् । चितवनले यसअघि एक खेल जितेको छ भने पोखरा तीनवटै खेलमा पराजित भएको छ । त्यसैले दुवै टोलीका लागि शुक्रबारको खेल अंकतालिकामा सुधार गर्ने अवसर हुनेछ ।

दिउँसो साढे १२ बजे सुरु हुने खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले जारी प्रतियोगितामा समान दुई खेल जितेका छन् । तर कर्णालीले तीन खेल खेल्दा एकमा पराजय भोगेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ ।

कर्णालीले प्रतियोगिताको सुरुवात जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै गरेको थियो । दोस्रो खेलमा विराटनगर किङ्ग्ससँग ४ विकेटको जित निकाल्दै कर्णालीले लगातार दोस्रो सफलता हात पारेको थियो । तर तेस्रो खेलमा काठमाडौँ गोर्खाजसँग ४ विकेटले पराजित भएपछि उसको अपराजित यात्रा टुङ्गिएको थियो ।

काठमाडौँसँग पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । तर काठमाडौँले १९।४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यस खेलमा कर्णालीले राम्रो ब्याटिङ गरे पनि जित जोगाउन सकेन ।

तीन खेलबाट चार अंक जोडेको कर्णालीको नेट रनरेट प्लस ०.२९५ छ । अंक बराबर भएका टोलीमध्ये राम्रो नेट रनरेटका कारण कर्णालीको अवस्था तुलनात्मक रूपमा बलियो छ ।

कर्णालीका लागि कप्तान सोमपाल कामी, साहिबजादा फरहान, गुलशन झा र अन्य ब्याटरको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । यसै खेलबाट दक्षिण अफ्रिकी अनुभवी ब्याटर डेभिड मिलरले पनि एनपीएलमा डेब्यु गर्दैछन् । उनी नेपाल आइपुगेका छन् ।

अर्कोतर्फ सुदूरपश्चिमले प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पुनरागमन गरेको सुदूरपश्चिम विराटनगरसँग पाँच ओभरको खेलमा ३५ रनले पराजित भएको थियो । तर चौथो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै टोलीले दोस्रो जित निकालेको थियो ।

चार खेलबाट चार अंक जोडेको सुदूरपश्चिमको नेट रनरेट माइनस १।०६४ छ । त्यसैले शुक्रबार कर्णालीलाई हराउँदै अंक बढाउनुका साथै नेट रनरेट सुधार गर्ने अवसर पनि टोलीसँग हुनेछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, सैफ जैब, ब्रान्डन म्याकमुलन, स्कट कुगेलाइन र शेरफेन रदरफोर्ड टोलीका महत्त्वपूर्ण खेलाडी हुन् ।

एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णाली र सुदूरपश्चिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । दुवै खेलमा सुदूरपश्चिम विजयी भएको छ । अर्थात् कर्णालीले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन ।

शुक्रबारको दोस्रो खेल बेलुका साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबिच हुनेछ । जारी प्रतियोगितामा चितवनले एक खेल जितेको छ भने पोखरा जितविहीन छ ।

चितवनले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्ससँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

तर तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले पराजित भएपछि चितवनको जितको लय रोकिएको थियो । तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलको नतिजा नआउँदा तीन अंक जोडेको छ। टोलीको नेट रनरेट माइनस ०.४८६ छ ।

चितवनका लागि कप्तान कुशल मल्ल, रञ्जित कुमार, सिकन्दर राजा र अन्य विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । टोलीले यस संस्करणमा आफ्नो ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै प्लेअफ पुग्ने लक्ष्य राखेको छ ।

अर्कोतर्फ पोखरा एभेन्जर्सका लागि जारी प्रतियोगिता सुखद हुन सकेको छैन । पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रनले हारेको थियो । तेस्रो खेलमा लुम्बिनी लायन्ससँग ८ विकेटको हार बेहोरेपछि पोखरा लगातार तीन खेलमा पराजित भएको छ ।

तीन खेलबाट कुनै अंक जोड्न नसकेको पोखरा तालिकाको पुछारमा छ । टोलीको नेट रनरेट माइनस १.७७० छ । त्यसैले शुक्रबारको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ ।

प्रकाशित: २० कार्तिक २०८३ ६:५६ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast