इजरायललाई अब अमेरिकी आर्थिक सहयोग नहुने ट्रम्पको घोषणा

हिमाल प्रेस १८ कार्तिक २०८३ ८:५३ | Wednesday, November 4, 2026
22
SHARES
इजरायललाई अब अमेरिकी आर्थिक सहयोग नहुने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।फाइल तस्बिर

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको करिब ४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने बताएका छन्। इजरायललाई अब उक्त आर्थिक सहयोग आवश्यक नरहेको भन्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

मंगलबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि उसले अब अमेरिकी आर्थिक सहायतामा निर्भर रहनुपर्ने अवस्था नरहेको बताए।

‘इजरायल हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार हो। हामी उसलाई अरूलाई भन्दा बढी सहयोग गर्छौं। तर अब उसलाई त्यसको आवश्यकता छैन,’ ट्रम्पले भने।

उनले इजरायललाई दिइने सहयोग अमेरिकी आन्तरिक राजनीतिमा डेमोक्रेटिक पार्टीका लागि राजनीतिक मुद्दा बनेको भन्दै रिपब्लिकन पार्टीले त्यसको राजनीतिक दबाब किन बेहोर्ने भन्ने प्रश्नसमेत उठाए।

हाल अमेरिकाले सन् २०१८ देखि लागू भएको १० वर्षे समझदारीअनुसार इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। उक्त सम्झौताको अवधि सन् २०२८ मा समाप्त हुँदैछ। तर ट्रम्पको पछिल्लो अभिव्यक्तिले निर्धारित समयभन्दा अगावै यस वर्षको अन्त्यबाटै सहायता रोक्ने संकेत गरेको छ।

सीएनएनका अनुसार अमेरिकी सहयोगअन्तर्गत उपलब्ध रकम इजरायलले अमेरिकी हतियार तथा सैन्य उपकरण खरिद गर्न प्रयोग गर्न पाउँछ। यसबाट अमेरिकी रक्षा उद्योगका कम्पनीहरूलाई पनि आर्थिक लाभ पुग्दै आएको छ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग यस विषयमा सहमति भएको दाबी गरेका छन्। इजरायललाई आवश्यक परे सहयोग जारी राख्न सकिने भए पनि अहिले त्यसको आवश्यकता नरहेको उनको भनाइ छ।

‘हामीले यस विषयमा धेरै वर्षदेखि कुरा गरिरहेका छौँ। यो ठूलो रकम हो,’ ट्रम्पले भने। उनले सहयोगलाई नगद, सैन्य सहायता वा वस्तु विनिमय जुन रूपमा परिभाषित गरे पनि अमेरिकाले उपलब्ध गराउने करिब ४ अर्ब डलर बराबरको सहयोग इजरायललाई आवश्यक नरहेको बताए।

 ट्रम्पको घोषणाले अमेरिका र इजरायलबीचको लामो समयदेखिको सैन्य सहकार्यमा नयाँ बहस सिर्जना गरेको छ। अमेरिकी पूर्वअधिकारीहरूले भने घोषणा कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

विशेषगरी इरानसँग पुनः सैन्य तनाव बढ्न सक्ने अवस्थामा अमेरिकाले इजरायललाई दिँदै आएको सैन्य सहयोग तत्काल पूर्ण रूपमा बन्द गर्ने सम्भावनाप्रति उनीहरूले प्रश्न उठाएका छन्। साथै, अमेरिकी बजेट विनियोजनमा कंग्रेसको पनि महत्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रपतिको घोषणामात्रले सहायता स्वतः बन्द नहुने उनीहरूको भनाइ छ।

अमेरिकाका पूर्वमध्यपूर्व वार्ताकार आरोन डेभिड मिलरले इजरायलको मुद्दा रिपब्लिकन पार्टीभित्रै पनि ध्रुवीकरणको विषय बनेको बताएका छन्।

उनका अनुसार टकर कार्लसन, मार्जोरी टेलर ग्रीनलगायतका एमएजीए समूहका केही प्रभावशाली व्यक्तिहरू तथा उपराष्ट्रपति जेडी भान्ससमेत अमेरिका र इजरायलबीचको निकट सम्बन्धको औचित्यबारे फरक धारणा राख्ने राजनीतिक समूहको प्रतिनिधित्व गर्छन्।

ट्रम्पको पछिल्लो घोषणा नेतन्याहु इजरायलमा नयाँ गठबन्धन सरकार गठन गरी सत्तामा टिकिरहने प्रयासमा रहेका बेला आएको हो। मिलरले यस्तो समयमा घोषणा हुनुलाई असहज परिस्थिति भनेका छन्।

नेतन्याहुका प्रमुख राजनीतिक प्रतिस्पर्धी गादी आइसेनकोटले ट्रम्पको घोषणाप्रति असन्तुष्टि जनाएका छन्। उनले अमेरिका र इजरायलबीचको विशेष सम्बन्ध इजरायलको राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सैन्य तथा राजनीतिक नेतृत्वले सञ्चारमाध्यमबाट यस्तो परिवर्तनबारे जानकारी पाउनु चिन्ताजनक भएको बताएका छन्।

‘अमेरिकासँगको विशेष सम्बन्ध हाम्रो राष्ट्रिय सुरक्षाको केन्द्रीय आधार हो। रणनीतिक सम्बन्धमा परिवर्तन भएको कुरा इजरायलको रक्षा प्रतिष्ठान र नागरिकले सञ्चारमाध्यमबाट थाहा पाउनु नेतन्याहुको कार्यशैली कति जोखिमपूर्ण छ भन्ने प्रमाण हो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले नेतन्याहुमाथि विश्वास गर्न नसकिने भन्दै नेतृत्व परिवर्तन हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्। यसैगरी, इजरायलको वामपन्थी डेमोक्र्याट्स पार्टीका प्रमुख याइर गोलानले ट्रम्पको घोषणालाई नेतन्याहुको ठूलो असफलता भनेका छन्।

उनका अनुसार जिम्मेवार प्रधानमन्त्रीले अमेरिकी सहयोग बढाउन पहल गर्नुपर्नेमा सहयोग नै अन्त्य हुने अवस्था सिर्जना भएको छ। यसले इजरायलको सुरक्षा र आर्थिक संकटलाई थप गहिरो बनाउन सक्ने उनको भनाइ छ।

रोचक पक्ष के छ भने नेतन्याहुले पनि पछिल्लो समय अमेरिकी सैन्य सहायतामा निर्भरता अन्त्य गर्ने विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए।

गत मे महिनामा अमेरिका र इजरायलबीच सन् २०२८ मा समाप्त हुने सैन्य सहायता सम्झौताको विकल्पबारे औपचारिक छलफल सुरु भएको थियो। तर नयाँ सम्झौताको स्वरूपबारे स्पष्ट सहमति भइसकेको छैन।

गत साता भएको निर्वाचनअघि एक इजरायली टेलिभिजनसँग कुरा गर्दै नेतन्याहुले अमेरिकाबाट प्राप्त हुँदै आएको अर्बौँ डलरको सैन्य सहायता अन्त्य हुने समय आएको बताएका थिए।

उनले आफूले विगतमा दुईपटक सुनिश्चित गरेको अमेरिकी सहयोग अब निरन्तर प्राप्त भइरहने अपेक्षा नगर्न पनि आग्रह गरेका थिए।

ट्रम्पको घोषणाका बाबजुद उनको दोस्रो कार्यकालमा पनि इजरायललाई अमेरिकी सैन्य सहयोग जारी रहँदै आएको छ। गत सेप्टेम्बरमा मात्रै अमेरिकी प्रशासनले इजरायललाई २ अर्ब ८० करोड डलर बराबरका शक्तिशाली बम बिक्री गर्ने अनुमति दिएको थियो।

अमेरिकी कंग्रेसमा भने इजरायललाई निरन्तर सैन्य सहयोग उपलब्ध गराउने विषयमा, विशेषगरी डेमोक्रेटिक सांसदहरूबाट, प्रश्न उठ्दै आएको छ। यद्यपि गत जुलाईमा अमेरिकी प्रतिनिधिसभाबाट पारित वार्षिक रक्षा विधेयकमा अमेरिका र इजरायलबीचको रक्षा प्रविधिसम्बन्धी सहकार्यलाई थप संस्थागत र विस्तार गर्ने प्रावधान समावेश गरिएको थियो।

इजरायलका प्रधानमन्त्रीका जीवनी लेखक तथा पत्रकार अन्सेल फेफरले ट्रम्पको पछिल्लो घोषणालाई नेतन्याहु र उनको निकट सहयोगी रोन डर्मरका लागि ठूलो कूटनीतिक असफलताका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार अमेरिकी राजनीतिबारे आफूहरू निकै जानकार रहेको दाबी गर्दै आएका नेतन्याहु र डर्मरकै नेतृत्वमा अमेरिका–इजरायल सम्बन्धमा उल्लेखनीय गिरावट आएको छ।

ट्रम्पको घोषणाले इजरायललाई दिइँदै आएको अमेरिकी सैन्य सहयोगको भविष्यबारे प्रश्न उठाएको छ। तर सहायता बन्द गर्ने निर्णय कहिलेदेखि र कुन कानुनी तथा बजेटीय प्रक्रियामार्फत कार्यान्वयन हुन्छ भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।

प्रकाशित: १८ कार्तिक २०८३ ८:५३ | Wednesday, November 4, 2026

प्रतिक्रिया

One thought on “इजरायललाई अब अमेरिकी आर्थिक सहयोग नहुने ट्रम्पको घोषणा”

  1. किन गर्छ र आफ्नो कठपुतली मान्छे सरकारमा नभए पछि तर यस्तै धाकधम्कीको जरुरत पर्दछ नयां कठपुतली बनाउनको लागि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast