सागरको साहससँगै राजनीतिमा सुधारको ‘भ्याक्सिन’

किरण पौडेल ७ मंसिर २०७९ १९:१४ | Wednesday, November 23, 2022
सागरको साहससँगै राजनीतिमा सुधारको ‘भ्याक्सिन’

काठमाडौँ- पार्टीको ठूला नेतासँग चुनाव लड्न जो कोही तयार हुँदैनन्। मतदातालाई प्रलोभन देखाउने, ‘प्रशासन परिचालन गर्ने’लगायतका आक्षेप लगाउँदै पन्सिन्छन्। तर, गुल्मीका सागर ढकाल भने यसपटक अपवाद बने। उनले बाध्यतामा परेर होइन रहर र पुराना नेतृत्वको हालीमुहालीको कहरले नै चुनाव लड्न डडेलधुरा पुगे।

डडेलधुरा, जहाँ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ‘निजी निर्वाचन’ क्षेत्र हो। कांग्रेस प्रतिकूल बन्दा पनि शेरबहादुरले सोही क्षेत्रबाट चुनाव जित्छन्, जितिरहेका छन्। हालसम्म ७ पटक जितेका देउवाले २०७४ सालमा वाम गठबन्धन हुँदा पनि डडेलधुराबाट विजयी बने। यसपटक शेरबहादुरलाई गत निर्वाचनको जस्तो प्रतिकूल नभएको प्रचार थियो। माओवादी केन्द्रसहितका नेताको समर्थन हुँदा सानदार जित्ने अनुमान थियो। तर पनि उनीसँग भिड्नकै लागि सागर डडेलधुरा पुगे। सागर चुनाव लड्न डडेलधुरा नै पुग्नुको कारण चाहिँ अलि रोमान्चक छ।

बीबीसीको ‘साझा सवाल’ कार्यक्रममा शेरबहादुरलाई सागरले प्रश्न गरेका थिए। ‘तपाइँ नेताहरू को अक्सफोर्ड विश्वविद्यालय पढेको हुनुहुन्छ? बेलायतका सबै प्रधानमन्त्री अक्सर्फोड पढेका हुन्छन्।’ भन्ने प्रश्न गरेका थिए। देउवाले रिसाउँदै ‘तपाईं वड्ता बोल्दै हुनुहुन्छ, कहाँबाट ल्याउने अक्सर्फोड पढेको नेता, यहाँ जे छ त्यही पढ्ने हो नि’ भनेका थिए। त्यसबेला सोही अभिव्यक्तिका कारण शेरबहादुर आलोचित भए। सार्वजनिक समारोह र अन्तर्वार्तामा कम बोल्ने देउवालाई सोही अभिव्यक्ति भारी पर्‍यो।

सागरले देउवालाई पुस्तान्तरणको प्रश्न पनि सोधेका थिए। उनले नेपालमा ‘जनताको मन बुझ्ने नेता’ नभएको बताएका थिए। सागरले शेरबहादुरबाट चित्त बुझ्दो उत्तर पाएनन्। त्यही कारण शेरबहादुरको विकल्प बन्न भन्दै आफैँ डडेलधुरा पुगे चुनाव लड्न। तीन महिनाअघि डडेलधुरा टेकेका उनले ‘देउवालाई हराएरै छाड्ने’ अभिव्यक्ति दिन्थे। यो अभिव्यक्ति धेरैका लागि हाँस्यास्पद बन्यो।

‘मलाइँ यहाँ आएर चुनाव लड्छु भन्दा धेरैले ५०० मत मात्र ल्याउँछस् भने। तर मैले साहस राखे,’ निर्वाचन नतिजा स्वीकार्दै सागर भन्छन्,‘मलाइ चुनाव हार्नु/जित्नुसँग सरोकार भएन। राजनीति सुधार्नु थियो। एउटा प्रयास गरेँ।’ उनले आजको भन्दा पनि भावी पुस्ताको राजनीति सुधार्न राजनीति गरेको बताए।

‘मलाइ आज मात्रै राजनीति गर्नु छैन। भावी पुस्ताका बारेमा सोच्नु छ। किनकि, हाम्रो राजनीति धेरै नै बिग्रिसक्यो। गन्हाईसक्यो। फजुल खर्च गरेर चुनाव जित्ने परम्परा छ। त्यो हटाउन चाहन्छु,’ उनले भने। हुन त सागर राजनीतिक व्यक्ति पनि होइनन्। पेसाले इन्जिनियर हुन्।

यसपटक मात्र होइन, अर्को पटक पनि डडेलधुराबाटै चुनाव लड्ने उनको भनाइ छ। उनी अब पुनः राजनीतिमै लाग्ने बताएका छन्। सागरलाई डडेलधुराले धेरै कुरा सिकायो। पश्चिमेली भाका सिकायो भने राजनीतिक चरित्र बन्न सिकायो। उनले डडेलुधराका मतदाताका घरघरमा बास बसे। सबैतिरबाट उनलाई राम्रै ‘रेस्पोस्स’ आयो।

‘नसोचेको’ मत
शेरबहादुरका मुख्य प्रतिस्पर्धी ठानिएका थिए, कर्ण मल्ल। कर्ण तिनै व्यक्ति हुन्, उनी लामो समयदेखि शेरबहादुरनिकट थिए। तर चुनावभन्दा केही समयअघि मात्रै उनी शेरबहादुरसँग चिडिए। एकाएक पार्टी छाडे। नेपाली कांग्रेस (बीपी)बाट डडेलधुरामै चुनाव लड्न आए। कर्णले राम्रै टक्कर दिने अनुमान थियो। तर कर्णको भन्दा सागरले बढी मत ल्याए। शेरबहादुरले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी हुँदा कांग्रेस बीपीका कर्णले ७ हजार ५ सय ३५ मात्र मत पाए।

यता सागरले भने मल्लभन्दा झण्डै दोब्बर अर्थात १३ हजार ४२ मत ल्याए। ‘सागर साहस बोकेका व्यक्ति हुन्। उनले अचम्मको पागलपन यसपटक देखाए। जुन राजनीतिमा आवश्यक थियो,’ राजनीतिक जानकार सूर्यराज आचार्य भन्छन्,‘ अचम्मको उपद्रोपन सागरले देखाए। हार्ने जान्दाजान्दै उठे। अनि हारेर पनि जिते।’

चुनाव लड्दा आफूले ठूला राजनीतिक कार्यक्रम नै गरेनन्। तर फरक तरिकाले कार्यक्रम गरे। शेरबहादुर डडेलधुरामा कार्यक्रमका लागि पुग्दा माला लिएर पुगे। शेरबहादुरकै मन्चमा बोल्न पनि चाहेका थिए तर पाएनन्। ‘डडेलधुरामा भ्याक्सिनका कारण अबको राजनीति सुध्रिदै जानेमा आशावादी छु,’ अर्का राजनीतिक जानकार रामेश्वर खनाल भन्छन्। यसपटकको सागरको कदमलाई धेरैले ‘राजनीतिक सुधार अभियान’ भ्याक्सिनका रूपमा बुझेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १९:१४ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast