पत्रकारहरूमाथि भएको धरपकडको छानबिन गर्न विशेष समिति गठन गर्न कांग्रेसको माग

हिमाल प्रेस १६ कार्तिक २०८३ ११:५३ | Monday, November 2, 2026
2
SHARE
पत्रकारहरूमाथि भएको धरपकडको छानबिन गर्न विशेष समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारहरूमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ।

सोमबार (कात्तिक १६) सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट पत्रकारमाथि धरपकडलगायत घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीविरुद्ध कारबाही गर्न संसदीय समिति गठनको माग गरिएको हो।

पत्रकारमाथि धरपकड गर्ने र त्यसनिम्ति आदेश दिनेहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने कांग्रेसको माग छ । कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शासन कानुनभन्दा माथि नहुने बताएकी छन् । उनले भनेकी छन्, “लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार हो, संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति होइन। तर, पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेका छन्।”

स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत रहेको कांग्रेसको ठहर छ । पत्रकारमाथि गरिएको धरपकडबारे सरकारले जवाफ दिनुपर्ने कांग्रेसको माग छ।

कांग्रेसले भनेको छ, “वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारका विषय र सुशासनका सन्दर्भमा कांग्रेसको समर्थन छ । तर, लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्तिपृथकीकरणलगायतका सारभूत मूल्यमान्यताविपरीत सरकार लागेमा कांग्रेसको विरोध रहन्छ।”

कांग्रेसले सरकार संवैधानिक संरचनालाई कमजोर बनाउन लागिपरेको आरोप लगाएको छ । न्यायपालिकामाथिको ‘प्रहार’ पनि सोही प्रयासको हिस्सा भएको कांग्रेसको तर्क छ । कांग्रेसले भनेको छ, “न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण हुनुपर्दछ । सरकारका गतिविधि ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने मानसिकता र प्रवृत्तिका उपज हुन् ।”

सरकार आफूअनुकूलको शासन व्यवस्था स्थापना गर्न लागिपरेको कांग्रेसको बुझाइ छ । संवैधानिक संरचनामाथिको आक्रमण सुनियोजित भएको कांग्रेसले जनाएको छ । “यी सबै घटनाहरू मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक शृंखला हो भन्ने नेपाली कांग्रेस संसदीय दल स्पष्ट छ,” कांग्रेसले भनेको छ ।

कांग्रेसले पत्रकारमाथि धरपकडलगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ । साथै, दोषीलाई कानुनबमोजिम कारबाही र त्यसनिम्ति संसदीय विशेष समिति गठन गर्न कांग्रेसले माग गरेको छ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रकाशित: १६ कार्तिक २०८३ ११:५३ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast