काठमाडौँ- सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारबाट स्वीकृति लिई सञ्चालनमा रहेको एनप्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पालना नगरेको भन्दै निलम्बन गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार संस्थाका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको पाइएको छ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूसँग ०८३ साल भदौ २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन २०१८ तथा मन्त्रालयबाट ०८२ साल मंसिर १२ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो।
तर,उक्त निर्देशनअनुसार काम गरेको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम निर्देशन पालना नगरेको ठहर गर्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा निलम्बन अवधिमा संस्थाको नाममा कुनै समूह वा गुटबाट गतिविधि भएमा त्यस्ता कार्य गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
मन्त्रालयले सम्बन्धित सबै पक्षलाई उक्त निर्णयको जानकारी गराउँदै सरकारी निर्देशन र कानुनी व्यवस्थाको पालना गर्न आग्रह गरेको छ।




