नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आवाज उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आलोचना गरेका हुन्।
‘सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिँदैन,’ उनले लेखेका छन्, ‘राति-राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’
लुम्बिनी विकास कोष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्था भएको उल्लेख गर्दै पौडेलले यसको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्रै नभई योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितासमेत हेर्नुपर्ने बताएका छन्।
उनले आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै ती प्रश्नको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न नसक्ने र छनोटका आधारसमेत स्पष्ट पार्न नसक्ने बताएका छन्।
‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो,’ पौडेलले लेखेका छन्।
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध आन्दोलन गरेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमानलाई प्रहरीले मंगलबार दिउँसो रिहा गरेको छ।
सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा उनीहरू सोमबार राति पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार आवश्यक कागजपत्र तयार गरी उनीहरूलाई रिहा गरिएको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
तर, लुम्बिनी बचाउ महाअभियानले भने नियुक्तिको विरोध गरेको निहुँमा खानलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको थियो। रिहा भएपछि महाअभियानका सदस्यहरूले खानलाई फूलमाला लगाएर स्वागत गरेका थिए।



