सरकारलाई खबरदारी गरौँ, पूरा कार्यकाल काम गर्न दिऊँ : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस १० कार्तिक २०८३ १०:१७ | Tuesday, October 27, 2026
10
SHARES
सरकारलाई खबरदारी गरौँ, पूरा कार्यकाल काम गर्न दिऊँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार परिवर्तन वा ढाल्ने चर्चा सुरु हुनु चिन्ताजनक भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चाले राजनीतिक अस्थिरताको जोखिम बढाउने बताएका हुन्।

उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन तथा सडकमा आलोचना प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको उल्लेख गरेका छन्।

तर, निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने विषय उठिरहनु विगतमा देखिएका राजनीतिक अस्थिरता र त्यसका दुष्परिणाम दोहोर्‍याउनु भएको उनको भनाइ छ।

यस्तो प्रवृत्तिले देशलाई अनिश्चितताको भुमरीमा फसाउने, अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र बदलिँदो भूराजनीतिक परिस्थितिका जोखिम बढाउने उनले बताएका छन्।

भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गर्दै सरकार तथा राज्यसत्ताका विभिन्न अंगलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्।

विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र असहाय नागरिकका आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ।

सत्तामा रहेकाहरूले जनताको आवाज नसुनेमा उनीहरूलाई विधिसम्मत ढंगले दण्डित गर्ने वा पदबाट हटाउने प्रक्रिया अपनाउनुपर्ने पनि उनले बताएका छन्।

निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिँदै भट्टराईले सरकारले काम नगरेमा वा गलत काम गरेमा अर्को निर्वाचनमार्फत विदा गर्नुपर्ने धारणा राखेका छन्।

उनको भनाइमा सरकारको निरन्तर निगरानी र खबरदारी आवश्यक भए पनि निर्वाचित सरकारलाई अस्थिर बनाउनेभन्दा लोकतान्त्रिक विधिबाट जवाफदेही बनाउने अभ्यासलाई प्राथमिकता दिनुपर्छ।

प्रकाशित: १० कार्तिक २०८३ १०:१७ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast