काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्र दिवसको अवसरमा नेपाली नागरिकलाई शुभकामना दिँदै सुशासनमा ध्यान दिनुपर्ने बताएका छन्।
गणतन्त्र दिवस २०८३ को सन्देशमा उनले दश वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन र विभिन्न उत्पीडित समुदायका संघर्ष र बलिदानको कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए।
भट्टराईका अनुसार गणतन्त्र केवल शासन परिवर्तन होइन नागरिक सर्वोच्चता, समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्ध नेपालको लागि ऐतिहासिक संकल्प हो।
डा.भट्टराईले संविधानका केही कमजोरी, कार्यान्वयनमा समस्या र राज्यका संरचनागत समस्याहरू सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने,‘हामीले साझा मूल्यमान्यता (कोर भ्यालुज)हरू तय गरेर स्वतन्त्र, समृद्ध र समुन्नत नेपाल बनाउन अघि बढ्नुपर्छ।’
सुशासन, उत्पादनमुखी अर्थतन्त्र, विज्ञान र प्रविधि, स्वाभिमान, सामाजिक न्याय र नागरिक सुख-समृद्धिलाई केन्द्रमा राखेर गणतन्त्रको वास्तविक अर्थ स्थापित हुने उनले बताए।
उनले विगतका संघर्ष र बलिदानको सम्मान गर्दै नयाँ सोच, नयाँ संकल्प र नयाँ दृष्टिकोणका साथ अघि बढ्न सबै नेपालीलाई प्रेरित गरेका छन्।




