अर्थमन्त्री वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक र राष्ट्रिय हितविपरीत : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

हिमाल प्रेस ९ कार्तिक २०८३ ११:४५ | Monday, October 26, 2026
10
SHARES
अर्थमन्त्री वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक र राष्ट्रिय हितविपरीत : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको रहेको बताएका छन् ।

ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।

उनले नेपालमा कहिल्यै पनि ‘भारत विरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्।

‘नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ थिएन। नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,’ ज्ञवालीले साेमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।

कुनै व्यक्ति वा समूह विशेषको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने गरी प्रस्तुत गर्न नमिल्ने उनको भनाइ छ। उनले वाग्लेले उल्लेख गरेको ‘युग’ कुन हो भन्ने प्रश्नसमेत उठाएका छन्।

ज्ञवालीले नेपाल र भारतबीच रहेका विभिन्न समस्यालाई बेवास्ता गरेर द्विपक्षीय सम्बन्ध बलियो बनाउन नसकिने बताएका छन्।

उनले सीमा समस्या, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउन भोग्नुपर्ने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमावर्ती क्षेत्रमा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या तथा नेपालले वैकल्पिक हवाई प्रवेश मार्ग पाउन भइरहेको ढिलाइलाई प्रमुख मुद्दाका रूपमा औँल्याएका छन्।

‘घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,’उनले भनेका छन्।

यी विषय उठाउनु कुनै देश विशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग जोडिएको प्रश्न भएको ज्ञवालीको तर्क छ। उनका अनुसार प्रत्येक सरकारको दायित्व राष्ट्रिय हितको रक्षा गर्नु हो।

नेपाल-भारतबीचका समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमति निर्माण गरी गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्‍याउँछ,’ ज्ञवालीले भनेका छन्।

ज्ञवालीको भनाइ

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कुटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर् याउने खालको छ ।
विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरुबारे बोल्ने थलो होइन ।
नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ । कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै ‘युग’ होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन ।
अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?
नेपाल र भारतका बिचमा कतिपय समस्या छन् । सीमा समस्या, सुरक्षा छाताको आभाष दिने १९५० को सन्धीका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरुले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नु पर्ने झण्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविकै रुपमा पाउनु पर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि ।
घनिष्ट छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन ।
यी विषयहरु उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो ।
हरेक सरकारको दायित्व यस राष्ट्रिय हितको रक्षा गर्नु हो ।
समाधानको एक मात्र बाटो यी विषयमा बलियो राष्ट्रिय एकता र सहमति निर्माण हो ।
त्यसको बलमा हुने गंभीर कुटनीतिक पहल हो ।
यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टिकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर् याउँछ ।

प्रकाशित: ९ कार्तिक २०८३ ११:४५ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast