एसिया कप छनोट गराउने टोलीलाई ३० लाख दिने क्यानको घोषणा

हिमाल प्रेस ८ कार्तिक २०८३ १७:२९ | Sunday, October 25, 2026
10
SHARES
एसिया कप छनोट गराउने टोलीलाई ३० लाख दिने क्यानको घोषणा क्यानका अध्यक्ष चतुरबहादुर चन्द

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एसिया कपमा छनोट भएको नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप क्यानका तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन्।

नेपालले दोस्रो पटक एसिया कपमा छनोट हुने अवसर प्राप्त गरेको उल्लेख गर्दै उनले खेलाडीको प्रदर्शनको सम्मान गर्न उक्त रकम दिने निर्णय गरिएको बताए।

चन्दले एसिया कपमा सफलता हासिल गर्ने टोलीलाई सरकारले उपलब्ध गराउने पुरस्कारसम्बन्धी व्यवस्थामा क्रिकेटलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।

खेलाडीले पाउनुपर्ने प्रोत्साहन रकम उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी उनले एनपीएलले देशभित्र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने पनि बताए। चन्दका अनुसार एनपीएल हेर्न देशका विभिन्न क्षेत्र तथा भारतलगायत बाहिरबाट आउने दर्शकका कारण होटल, यातायात र अन्य सेवा क्षेत्रमा समेत गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

उनले अघिल्लो वर्ष चुनौतीपूर्ण परिस्थितिका बाबजुद दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिएको स्मरण गर्दै त्यसले देशमा आर्थिक गतिविधि अघि बढाउन सकारात्मक वातावरण निर्माण गरेको बताए।

‘यो खालको सबै नेपालीलाई जोड्ने र सबै नेपालीको साझा एनपीएल बनेको छ,’ चन्दले भने, ‘यसले आर्थिक गतिविधिमा ठूलो टेवा पुग्छ।’

उनका अनुसार नेपाली क्रिकेटको बढ्दो लोकप्रियता र दर्शकको सहभागिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ध्यानसमेत नेपालतर्फ आकर्षित गरेको छ। यसको उदाहरणका रूपमा उनले डिसेम्बरमा नेपालमा आयोजना हुने ओडीआई विश्वकप प्लेअफ छनोट प्रतियोगितालाई उल्लेख गरे।

यसैबीच, क्यानका सचिव पारस खड्काले संघबाट प्राप्त आम्दानी क्रिकेटकै विकासमा खर्च भइरहेको बताए। उनका अनुसार जिल्ला र प्रदेशस्तरका प्रतियोगिता, महिला क्रिकेट, उमेर समूहका प्रतियोगिता तथा राष्ट्रिय टोलीका गतिविधिमा रकम परिचालन गरिँदै आएको छ।

खड्काले आगामी वर्षको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरसमेत तयारीको अन्तिम चरणमा रहेको जानकारी दिँदै राष्ट्रिय तथा उमेर समूहका टोलीका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।

प्रकाशित: ८ कार्तिक २०८३ १७:२९ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast