काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने विदेशी खेलाडीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) सम्बन्धी समस्या समाधानका लागि सम्बन्धित क्रिकेट बोर्डसँग समन्वय भइरहेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताएका छन्।
एनपीएलको तेस्रो संस्करण सुरु हुनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा विदेशी खेलाडीको सहभागिताबारे सोधिएको प्रश्नको जवाफ दिँदै खड्काले खेलाडीले आफ्नो देशको क्रिकेट बोर्डबाट अनुमति लिनुपर्ने भएकाले त्यस प्रक्रियामा क्यानले सहजीकरण गरिरहेको बताए।
खड्काले एनपीएलका लागि आईसीसीको स्वीकृति एक साताअघि मात्रै आएको र विदेशी खेलाडीलाई आफ्नो देश छाडेर अर्को देशको लिगमा खेल्न सम्बन्धित बोर्डको अनुमति आवश्यक पर्ने बताए। ‘बोर्डले परमिसन नदिएको खण्डमा हामी कसैले पनि त्यसलाई न रोक्न सक्छौँ, न त्यसलाई कन्ट्रोल गर्न सक्छौँ,’ उनले भने।
खड्काका अनुसार एनओसी लिएर आएका खेलाडीहरू प्रतियोगितामा सहभागी हुन तयार छन्। अनुमति प्रक्रियामा रहेका खेलाडीका विषयमा भने सम्बन्धित बोर्डका पदाधिकारीसँग निरन्तर संवाद भइरहेको छ।
उनले विदेशी खेलाडीको उपलब्धतामा घरेलु क्रिकेटको तालिका र फ्रेन्चाइज लिगबीचको प्रतिस्पर्धाले पनि असर पार्ने बताए।
दक्षिण एसियाका विभिन्न देशमा घरेलु क्रिकेट सुरु हुने समय एनपीएलसँग जुध्न सक्ने भएकाले केही खेलाडीले आफ्नो घरेलु प्रतियोगितालाई प्राथमिकता दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो।
अफगानिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई सीमित संख्याका लिगमा मात्रै खेल्न अनुमति दिने उदाहरण दिँदै खड्काले विदेशी खेलाडीको उपलब्धता सम्बन्धित बोर्डको नियममा निर्भर हुने बताए।
एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरूले उच्चस्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले आवश्यक समन्वयबाट खेलाडीको सहभागिता सहज बनाउने विश्वास व्यक्त गरे।
एनपीएलको तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्। प्रतियोगिता सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।



