एनपीएलबाट ७५ करोडसम्मको कारोबार हुने क्यानको अनुमान, विजेताले डेढ करोड पाउने

हिमाल प्रेस ८ कार्तिक २०८३ १६:५९ | Sunday, October 25, 2026
8
SHARES
एनपीएलबाट ७५ करोडसम्मको कारोबार हुने क्यानको अनुमान, विजेताले डेढ करोड पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्द

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइज टोलीहरूको संयुक्त कारोबार डेढ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले यस्तो जानकारी दिएका हुन्।

कोषाध्यक्ष खड्काका अनुसार एनपीएलबाट क्यानले प्रायोजन, टिकटिङलगायतका माध्यमबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने अनुमान छ। प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ आम्दानी हुने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगितामा उल्लेख्य रकम खर्च गर्ने भएकाले क्यान र टोलीहरूको खर्च तथा कारोबार जोड्दा कुल रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा पुग्ने उनको भनाइ छ। यो एक महिनाको अवधिमा एनपीएल डेढ सय करोडको कारोबार हुने उनले पत्रकार सम्मेलनमा बताए।

एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको क्यानले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। दाेस्राे हुने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउने कोषाध्यक्षले जानकारी दिए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको बताए। उत्कृष्ट खेलाडीको सहभागिता, प्रायोजकको साथ र प्रतियोगितासँग जोडिएको आर्थिक गतिविधिले लिगको उचाइ बढाएको उनको भनाइ छ।

एनपीएलको आर्थिक कारोबार बढ्दै गए पनि प्रतियोगिताबाट हुने आम्दानी क्रिकेटको विकासमा कसरी खर्च हुन्छ भन्ने विषयमा पत्रकारहरूले प्रश्न उठाएका थिए। त्यसको जवाफमा क्यानका सचिव पारस खड्काले संघको आम्दानी जिल्ला, प्रदेश, राष्ट्रिय टोली, उमेर समूह र महिला क्रिकेटलगायतका गतिविधिमा खर्च भइरहेको बताए।

उनका अनुसार एउटा सामान्य प्रतियोगितामा सहभागिता जनाउनसमेत ७० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च हुने गरेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताको संख्या बढ्ने भएकाले क्रिकेटको आम्दानी क्रिकेटकै विकासमा लगानी गर्नुपर्ने उनले बताए।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रकाशित: ८ कार्तिक २०८३ १६:५९ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast