फाइल तस्बिर
काठमाडौँ- बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन्। यसको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा बढी देखिने अनुमान गरिएको छ।
मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिनसम्म देशभर मौसममा ठूलो फेरबदल नहुने र वर्षाको सम्भावना न्यून रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहे पनि अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान छ।
विभागका अनुसार तराई, उपत्यका र खोँच क्षेत्रमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ। बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए। उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न स्थानमा बादल लाग्ने र केही ठाउँमा छिटपुट वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।
बिहीबार दिउँसोदेखि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना बढ्ने अनुमान छ। बिहीबार रातिदेखि शुक्रबारसम्म यसको प्रभाव थप बलियो हुने र शनिबारसम्म कायम रहन सक्ने मौसमविद्ले बताएका छन्।
प्रणालीको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिए पनि पश्चिमी भूभागका केही स्थानमा समेत वर्षा तथा हिमपात हुन सक्नेछ। तर, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटक र यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ। विशेषगरी बिहीबार, शुक्रबार र शनिबार हिमाली जिल्लामा हिमपात तथा प्रतिकूल मौसमको सम्भावना रहेकाले यात्रा गर्नुअघि मौसमसम्बन्धी अद्यावधिक सूचना लिनुपर्ने मौसमविद् लामिछानेले बताए।
पहिल्यै यात्रामा रहेका पर्यटक तथा पदयात्रीलाई पनि मौसमको अवस्था बुझेर सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ। धानबाली भित्र्याउने समय चलिरहेकाले सम्भावित वर्षाले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ। बुधबारको तुलनामा बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना बढी रहेकाले धान काट्ने तथा भित्र्याउने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर आवश्यक योजना बनाउन सुझाव दिइएको छ।
विशेषगरी काटिसकेको धान भिज्न नदिन सुरक्षित स्थानमा राख्न र पानी जम्ने खेत तथा क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। सम्भव भए वर्षाको प्रणाली सक्रिय हुनुअघि नै धानबाली भित्र्याउन किसानलाई आग्रह गरिएको छ।



