काठमाडौँ– सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागअन्तर्गत अब छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ । विभागले नयाँ श्वेतपत्र मस्यौदा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
श्वेतपत्रमा हवाई उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचनाको प्रस्ताव गरेको जनाइएको छ । नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रम लागू गर्ने भएको छ । यसअन्तर्गत उडान मार्गको मौसम पूर्वानुमान र डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटहरूलाई मौसमको सटिक जानकारी दिइने व्यवस्था गर्ने भएको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकाको जोखिमयुक्त हवाई उडानलाई सुरक्षित बनाउन उपत्यकामै केन्द्रित हुने गरी नयाँ एक्स–ब्यान्ड मौसम राडार स्थापना गर्ने योजना पनि श्वेतपत्रमा समावेश छ ।
यसले अचानक बदलिरहने मौसमको तत्कालीन जानकारी दिई उडान सुरक्षामा मद्दत पुर्याउने विश्वास सरकारले गरेको छ ।



