सांकेतिक तस्बिर
काठमाडौँ- भारतको बिहार राज्यस्थित सिवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा एउटा घरमा भीषण विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सिवानका प्रहरी अधीक्षक भारत सोनीका अनुसार चिकित्सकीय टोलीको आकलनपछि सिभिल सर्जनले पाँचवटा शव फेला परेको पुष्टि गरेका छन्।
घटनाका बेला घरमा सातदेखि आठजना रहेको बताइएको छ। तीमध्ये पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने तीनजना घरबाहिर रहेको खुलेको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
प्रहरी अधीक्षक सोनीले घटनास्थलमा फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) को टोली पुगेको बताएका छन्। आगो पूर्ण रूपमा निभाइएको र घरको पूरै भागमा खोजी भइरहेको उनले जानकारी दिए।
बम पहिचान गरी निष्क्रिय पार्ने टोली पनि घटनास्थलमा खटिएको छ। क्षेत्रको निरीक्षण गर्न ड्रोन प्रयोग भइरहेको छ। अनुसन्धानबाट विस्फोटको वास्तविक कारण पत्ता लाग्ने उनले बताए।
घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका प्रमुख र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ। प्रहरीले घटनाबारे मुद्दा दर्ता गरिसकेको छ।
विस्फोटको कारण पत्ता लगाउन विशेष प्रहरी टोली गठन गरिएको छ।



