काठमाडौँ– जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, धार्मिक उत्सव, र्याली तथा मूर्ति विसर्जनका क्रममा चर्को आवाजमा डीजे बजाउन र सामाजिक सद्भाव भड्काउने खालका उच्छृङ्खल गतिविधि गर्न पूर्ण रूपमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सूचना जारी गर्दै बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त झापामा सामाजिक सद्भाव, भाइचारा र शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
प्रशासनले धार्मिक तथा सांस्कृतिक अनुष्ठानका क्रममा अन्य धर्मावलम्बीहरूका आस्थाका केन्द्र (मन्दिर, मस्जिद, मदरसा, चर्च, गुम्बा आदि) अगाडि पुगेर होहल्ला गर्ने, नियोजित रूपमा जुलुस रोक्ने, उत्तेजक प्रदर्शन गर्ने तथा अविर र अन्य सामग्री फ्याँक्ने जस्ता कार्य नगर्न सचेत गराएको छ।
चाडपर्वको मौका छोपी असामाजिक तत्त्वहरूबाट हुनसक्ने सम्भावित घुसपेठ र उक्साहटपूर्ण गतिविधिप्रति सजग रहँदै तोकिएको रुट र समयसीमाको पूर्ण पालना गर्न आयोजकहरूलाई निर्देशन दिइएको छ।
विशेषगरी सार्वजनिक शान्तिमा खलल पुर्याउने र ध्वनि प्रदूषण बढाउने चर्को आवाजका डीजे नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको सीडीओ पोखरेलले जानकारी दिएका छन्।
प्रशासनको सूचना अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने व्यवसायी, उपकरण धनी तथा ढुवानी गर्ने सवारी साधनका चालक/धनीलाई समेत नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम मुद्दा चलाइने चेतावनी दिइएको छ।
यसैगरी, शोभायात्रा तथा मूर्ति विसर्जनका क्रममा मादक पदार्थ सेवन गरेर सहभागी नहुन र सामाजिक सञ्जालमार्फत भ्रामक वा साम्प्रदायिक विद्वेष फैलाउने खालका सन्देश प्रवाह नगर्न समेत सूचित गरिएको छ।
जिल्लामा सदियौँदेखि कायम आपसी सहअस्तित्व र ऐक्यबद्धतालाई अक्षुण्ण राख्न राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी, सञ्चारकर्मी तथा आम नागरिकलाई उच्च सतर्कता अपनाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले हार्दिक अपिल गरेको छ।




