अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन।
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुने सम्भावना घट्दै गएको अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। यस विषयमा जानकारी राख्ने पाँचजनाका अनुसार दुई नेताबीच भेटवार्ता हुने सम्भावना कमजोर बन्दै गएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको हो।
उत्तर कोरियाली नेतासँग भेट्ने एक मात्र अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियासँगको वार्ता पुनः सुरु गर्न इच्छुक छन्। तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नियन्त्रण गर्ने उद्देश्यले गरिने कूटनीतिक वार्तामा खासै रुचि देखाएको छैन।
अर्को महिना चीनमा हुने क्षेत्रीय शिखर सम्मेलनअघि ट्रम्प र किमबीच भेटवार्ताका लागि उत्तर कोरियाबाट अमेरिकाले कुनै जवाफ पाएको छैन। भेटवार्ता हुन सक्ने सम्भावित अवसरका रूपमा हेरिएको उक्त सम्मेलन आउन अब थोरै समय मात्र बाँकी रहेको ती पाँचजनाले बताएका छन्। उनीहरूमध्ये चारजनालाई अमेरिका र दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूले यस विषयमा जानकारी दिएका थिए। पाँचौँ व्यक्ति दक्षिण कोरियाली अधिकारी हुन्।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले द्विपक्षीय शिखर वार्तामा सहमत हुन प्योङयाङले कडा सर्त राख्ने जनाएको छ। ती सर्तमा प्रतिबन्धहरू हटाउने विषयसमेत समावेश हुन सक्ने बताइएको छ। यद्यपि, किमकी शक्तिशाली बहिनीले भने दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको बताएकी छन्।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले अगस्टमा यसै वर्ष किमसँग भेट्ने योजना रहेको र आफूले गरेको पहलमा उत्तर कोरियाली नेताले प्रतिक्रिया दिएको बताएका थिए।
दक्षिण कोरियाको गुप्तचर निकायले गत महिनाको अन्त्यतिर सांसदहरूलाई नोभेम्बर १८-१९ मा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहको शिखर सम्मेलनका क्रममा ट्रम्प र किमबीच भेटवार्ता हुने सम्भावना ५० प्रतिशत रहेको बताएको थियो।
तर सोमबार ट्रम्पले एपेक सम्मेलन वा नोभेम्बरमै फिलिपिन्समा हुने क्षेत्रीय शिखर सम्मेलनका क्रममा यस्तो भेटवार्ता हुने सम्भावनालाई कम महत्त्व दिए। आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेटेका ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘म उनीसँग निकै राम्रो सम्बन्ध राख्छु। तर मलाई लाग्दैन, कसैले भेटवार्ताका लागि अनुरोध गरिरहेको छ।’
यस विषयमा जानकार अर्का दक्षिण कोरियाली अधिकारीका अनुसार ट्रम्पसँग भेटवार्ताको तयारी भइरहेको संकेत दिने कुनै कदम प्योङयाङले चालेको छैन। निजी कुराकानीका विवरण सार्वजनिक गर्न ती सबै व्यक्तिले आफ्नो नाम उल्लेख नगर्ने सर्त राखेका थिए।
यस विषयमा प्रतिक्रिया माग्दा दक्षिण कोरियाको विदेश मन्त्रालयले भनेको छ, ‘विशिष्ट समयसीमा अनुमान गर्न कठिन भए पनि अमेरिका र उत्तर कोरियाबीच जतिसक्दो चाँडो वार्ता गराउन दक्षिण कोरियाली सरकारले अमेरिकासँग निकट समन्वय गर्दै आवश्यक कूटनीतिक प्रयास जारी राख्नेछ।’
गत साता वासिङ्टनस्थित दक्षिण कोरियाली राजदूत काङ क्युङ–ह्वाले ट्रम्प र किमबीच शिखर वार्ता गराउने दिशामा ठोस प्रगति नभएको बताएकी थिइन्।
उत्तर कोरियाको संयुक्त राष्ट्रसंघस्थित स्थायी नियोगले भने यस विषयमा प्रतिक्रिया माग्दा तत्काल जवाफ दिएको छैन।
ह्वाइट हाउसका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग तीनवटा ऐतिहासिक शिखर वार्ता गर्नुभएको थियो। ती वार्ताले कोरियाली प्रायद्वीपमा स्थिरता कायम गर्न मद्दत गरेका थिए।’
ती अधिकारीले थपे, ‘उत्तर कोरियासम्बन्धी अमेरिकी नीतिमा परिवर्तन भएको छैन। राष्ट्रपति ट्रम्प कुनै पूर्वसर्तबिना किम जोङ उनसँग वार्ता गर्न अझै तयार हुनुहुन्छ। अहिले घोषणा गर्नुपर्ने कुनै भेटवार्ता तय भएको छैन। उपयुक्त समयमा दुई नेताबीच भेट हुनेछ।’
गत महिना एक वरिष्ठ अमेरिकी अधिकारीले पत्रकारहरूसँग ट्रम्प किमसँग वार्ता गर्न तयार रहेको र अबको कदम चाल्ने जिम्मेवारी मुख्यतः उत्तर कोरियाकै हातमा रहेको बताएका थिए।
ट्रम्प–किम शिखर वार्ता अचानक हुन सक्छ
कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिसको आणविक नीति कार्यक्रममा वरिष्ठ अनुसन्धाता अंकित पाण्डाले एपेक शिखर सम्मेलनका क्रममा ट्रम्प र किमबीच भेटवार्ता हुने सम्भावना १० प्रतिशतभन्दा कम रहेको बताएका छन्।
‘ट्रम्प किमसँग भेट्न चाहनुहुन्छ भने उत्तर कोरियाले त्यसका लागि अमेरिकाबाट ठूलो मूल्य चुकाउनुपर्ने खालको सार्वजनिक संकेत खोजिरहेको छ भन्ने मलाई लाग्छ’, पाण्डाले भने। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने अमेरिकाको पछिल्लो निर्णय पनि उत्तर कोरियालाई मनाउन पर्याप्त नभएको उनको भनाइ थियो।
वासिङ्टनले उत्तर कोरियासँग वार्ता गराउन कहिलेकाहीँ किमसँग निकट सम्बन्ध कायम राखेको चीनको सहयोग पनि खोज्ने गरेको छ।
तर एपेक सम्मेलनका क्रममा निरन्तरता पाउने ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचका सौहार्दपूर्ण वार्ताले पनि प्योङयाङसँगको सम्बन्धमा कुनै निर्णायक प्रगति गराउन सकेका छैनन्।
सन् १९५०–५३ को कोरियाली युद्धमा लडाइँ अन्त्य गर्ने युद्धविराम भए पनि दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन्। उत्तर कोरियाविरुद्ध संयुक्त रक्षा सुनिश्चित गर्न अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक र सैन्य उपकरण तैनाथ गरेको छ। उत्तर कोरियाले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र विकासलाई निरन्तरता दिँदै आएको छ।
निजी अनुसन्धान संस्थाका अनुमान उद्धृत गर्दै दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियासँग ८० देखि १२० वटासम्म आणविक वारहेड रहेको बताएका छन्।
ट्रम्प र किमबीच सन् २०१८ र २०१९ मा भएका भेटवार्ता ऐतिहासिक भए पनि तिनबाट कुनै ठोस परिणाम निस्कन सकेन।
दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मिसेल स्टिलले बुधबार सोलमा अमेरिकी वाणिज्य मण्डलले आयोजना गरेको कार्यक्रममा दुई नेताबीच कहिले भेट हुन्छ भन्ने आफूलाई थाहा नभएको बताइन्।
यदि भेटवार्ताको व्यवस्था गर्न सकिएमा त्यसको घोषणा अचानक हुन सक्ने उनको भनाइ थियो।




