फ्रान्समा महँगीविरूद्ध प्रदर्शन : स्थिति नियन्त्रण बाहिर!

हिमाल प्रेस २ कार्तिक २०८३ १८:५५ | Monday, October 19, 2026
10
SHARES
फ्रान्समा महँगीविरूद्ध प्रदर्शन : स्थिति नियन्त्रण बाहिर! तस्बिर : एएफपी

काठमाडौँ- फ्रान्सका गृहमन्त्री लोरँ न्युनेजले त्यहाँका धेरै सहरहरुमा हिंसात्मक प्रदर्शनपछि स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गएको बताएका छन्।

उनले प्रशासनले स्थितिको गम्भीरताको आकलन गर्न असफल भएको स्वीकार गरेका छन्।

उनले राजीनामा दिने प्रस्ताव पनि गरेका थिए। तर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई पदमा निरन्तर रहन आग्रह गरे।

म्याक्रोनले न्युनेजलाई फ्रान्सका सडकहरुलाई सुरक्षित बनाउन र शनिबार तथा आइतबार भएको हिंसाका जिम्मेवार व्यक्तिहरुलाई कानुनको दायरमा ल्याउने उपायहरु खोज्न भनेका छन्।

आधुनिक फ्रान्सको इतिहासमा सार्वजनिक अशान्तिको यो सबैभन्दा गम्भीर मामिलाहरुमध्ये एक हो।

शनिबार पाँच लाखभन्दा बढी मानिसहरु महँगी र गुणस्तरीय सरकारी शिक्षासहित सार्वजनिक सेवाहरुको खराब अवस्थाको विरोधमा प्रदर्शन गरे। अधिकांश प्रदर्शन शान्तिपूर्ण नै थिए। तर पछि कालो कपडा लगाएका र मुख ढाकेका केही प्रदर्शनकारी तथा तोडफोड गर्ने व्यक्तिहरु अगाडि आएपछि स्थिति बिग्रियो।

प्रदर्शनका क्रममा करिब १ हजार पाँच सय पसल र व्यवसायहरुमा लुटपाट र तोडफोड गरिएको अनुमान छ।

दंगा नियन्त्रण प्रहरीले भिडमाथि अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। धेरै ठाउँमा प्रहरीले मानिसहरुमाथि लाठीचार्ज गरिरहेको देखिएको थियो। फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार करिब एक हजार प्रहरी घाइते भए, जसमध्ये सात जनाको अवस्था गम्भीर छ।

गृहमन्त्री न्युनेजमाथि राजनीतिक विरोधीहरु, केही ट्रेड युनियनहरु र सामाजिक सञ्जालमा मानिसहरुले शनिबार पहिले नै तय गरिएका धेरै प्रदर्शनहरुलाई नियन्त्रण गर्न पर्याप्त तयारी नगरेको र प्रहरीको तैनाथी पनि कम गरेको आरोप लगाएका छन्।
फ्रान्सको संसदको तल्लो सदनकी अध्यक्ष याएल ब्राउन–पिभेटले सम्पूर्ण घटनाको छानबिनका लागि समिति गठन चाहेको बताएकी छन्।

आइतबार राति फ्रान्सको राजधानी पेरिसमा तोडफोड गरिएका पसलहरुको पंक्तिनजिकै एउटा भित्तामा रातो रंगले लेखिएको थियो,‘उज्याले सहरमा अँध्यारो छाउको छ।’

पेरिसलाई ‘उज्यालोको सहर’ भन्ने गरिन्छ।

राष्ट्रपति म्याक्रोनले देशका केही भागमा कफ्र्यु लगाउन सक्ने स्थिति र शान्त पार्न संकटकाल लागू गर्न सक्न हल्ला पनि चलेको थियो।

अन्ततः आइतबार उनले टेलिभिजनमार्फत देशलाई सम्बोधन गरे। उनले जनतालाई राष्ट्रिय एकताको अपिल गरे र हिंसाका जिम्मेवार व्यक्तिहरुलाई सजाय दिइने फ्रान्सेली जनतालाई विश्वास दिलाउन प्रयास गरे।

म्याक्रोनको सम्बोधनको फ्रान्सको सञ्चारमाध्यममा कडिा आलोचना भएको छ।

फ्रान्सको सबैभन्दा ठूलो ट्रेड युनियनहरुमध्ये एक ‘सीजीटी युनियन’ की महासचिव सोफी बिनेले म्याक्रोनमाथि विद्यार्थीका चिन्ता, महँगीको संकट र फ्रान्समा सार्वजनिक सेवाको निरन्तर गिरिहेको गुणस्तरलाई सम्बोधन गर्न असफल भएको आरो लगाइन्।

राष्ट्रपतिले अब यो जिम्मेवारी प्रधानमन्त्री लेकोर्नुलाई सुम्पिएको जस्तो भान भइरहेको छ। फ्रान्समा म्याक्रोनलाई कार्यकाल सकिनै लागेको राष्ट्रपतिका रुपमा हेरिन थालिएको छ।

उनको उत्तराधिकारी बन्नका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ र ६ महिनापछि निर्वाचन हुँदैछ। आप्रवासीविरोधी राष्ट्रवादी दक्षिणपन्थी राष्ट्रपतीय उम्मेदवार मरीन ले पेन र पुँजीवादविरोधी वामपन्थी नो ज्याँ–लुक मलोंशो पनि चर्चामा आउने प्रयास गरिरहेका छन्।

यसले फ्रान्समा पहिलेदेखि नै जारी तनावलाई अझ बढाइरहेको छ। यो तनाव राजनीतिसँग सडकमा पनि देखिइरहेको छ। फ्रान्सको संसद ठप्प छ र तीन राजनीतिक ध्रुवहरुबीच गहिरो मतभेद छ। तीनैवटा ध्रुव सत्ताका लागि एकअर्कासँग होडबाजी गरिरहेका छन्।

यसबाहेक फ्रान्सको आर्थिक समस्याहरु पनि छन्। लगानीकर्ताहरुले सरकारमाथि बढ्दो सार्वजनिक ऋण नियन्त्रण गर्न निरन्तर दबाब दिइरहेका छन्। तर, फ्रान्सेली सरकारलाई डर छ कि यदि उसले सार्वजनिक सेवा कल्याण्कारी योजनाहरुको बजेटमा कटौती गर्‍यो भने अझ धेरै असन्तुष्टि मानिसहरु सडकमा उत्रिनेछन्।

शनिबारका घटनाहरुले पूरा फ्रान्सका मानिसहरु चकित र चिन्तित छन्। अश्रुग्यासले घेरिएका सहरहरु खुला रुपमा भएका लुटपाट र बलिरहेका सार्वजनिक भवनहरुका तस्बिरहरुले देशलाई चिन्तामा पारिदिएको छ।बीबीसीको सहयोगमा

प्रकाशित: २ कार्तिक २०८३ १८:५५ | Monday, October 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast