काठमाडौँ- नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिसकेको छ। बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणा गरेको थियो। यद्यपि आज र भोलि थोरै ठाउँहरूमा वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिएका छन्।
मनसुनी प्रभाव सकिएपछि नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ। पश्चिमी न्यूनचापीय प्रणालीको असरका कारण आज र भोलि हल्का पानी पर्न सक्ने उनी बताउँछन्।
आज मध्यदेखि पश्चिमी भेगका हिमाली भूभागको थोरै स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए। भोलि उक्त प्रणालीको असर पूर्वतिर फैलिँदै जाँदा पूर्वसम्मकै हिमाली भेगमा सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए।
‘पहाडी भूभागमा पनि आज र भोलि छिटपुटसम्म पानी पर्ने देखिन्छ,’ उनले भने।




