काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरूको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग अपिल गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएदेखि आफू निरन्तर प्रहारको निशानामा परेको बताएका छन्।
‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोपप्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ,’ उनले भने।
आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा भएको दाबी गर्दै उनले ती प्रचार कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर बनाइएको बताए।
‘ममाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु,’ उनले भने।
भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदा आफू एक नागरिकका रूपमा निर्मम अत्याचार र घृणाको सिकार भएको उनको भनाइ छ। यस्ता भ्रममा नपर्न उनले आम नागरिकलाई अपिलसमेत गरेका छन्।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु। यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु,’ उनले भने।
सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको अडियोसहितको समाचार सोमबार सार्वजनिक भएको थियो।




