ट्रम्पद्वारा रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा आक्रमण रोक्ने युद्धविरामको घोषणा

हिमाल प्रेस २६ असोज २०८३ ९:०३ | Monday, October 12, 2026
8
SHARES
ट्रम्पद्वारा रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा आक्रमण रोक्ने युद्धविरामको घोषणा डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम भएको घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौताका विस्तृत विवरण आफूहरूले अझै प्राप्त गर्न बाँकी रहेको बताएका छन्।

आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेन ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका हुन्। ‘तत्काल लागू हुने गरी रुस र युक्रेनबीचको युद्धमा ऊर्जा युद्धविराम भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई नतोड्नुहोला,’ उनले लेखेका छन्।

तर रुसले ट्रम्पको घोषणाबारे औपचारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

युक्रेनले पनि सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छैन। जेलेन्स्कीले आफूले युद्धविरामको घोषणाबारे नेटोका महासचिव मार्क रुटे, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्सँग छलफल गरेको बताएका छन्।

‘युक्रेन युद्धविरामको समर्थन गर्छ। रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण छ। हामी अमेरिकी पक्षबाट विवरणको प्रतीक्षामा छौं,’ उनले टेलिग्राममा लेखेका छन्। यद्यपि ट्रम्पको घोषणापछि पनि रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको जेलेन्स्कीले बताएका छन्।

उनका अनुसार युक्रेनको दोस्रो ठूलो सहर खार्किभस्थित ताप तथा विद्युत् उत्पादन गर्ने संयुक्त केन्द्रमा पनि रुसी आक्रमण भएको थियो। युक्रेनी अधिकारीले उक्त आक्रमण ट्रम्पको घोषणापछि भएको पुष्टि गरेका छन्।

प्रकाशित: २६ असोज २०८३ ९:०३ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast