काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका छन्।
एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणविना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका हुन्।
उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलहरुको भएको धारणा राखे।
छिमेकीहरूसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाएर सरकार अगाडि बढेमा त्यसको असर देशको सार्वभौमसत्ता र अस्मितामा पर्ने समेत उनले बताए।
उनले पार्टीलाई जनतासँग जोड्नका लागि बिगतमा भएका कमकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।



