चाइना जर्नल

लङ मार्च र यसले बोकेको भावना

अजय अलौकिक २४ असोज २०८३ १३:४४ | Saturday, October 10, 2026
4
SHARES
लङ मार्च र यसले बोकेको भावना

नयाँ चीनले भर्खरै आफ्नो ७७औँ वार्षिकोत्सव मनाएको छ। साथसाथै सदा जसरी चिनियाँले धुमधामका साथ सुनौलो सप्ताह पनि मनाएका छन्। यसबाहेक यो अक्टोबर महिना चीन र चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासका लागि अर्को एक कारणले पनि महत्त्वपूर्ण छ। सन् १९३४ देखि १९३६ सम्म चलेको एक महान् सैन्य अभियान जसलाई लङ मार्च भनिन्छ, यस वर्ष चीनले सो लङ मार्चको सफलताको ९०औँ वार्षिकोत्सव मनाइरहेको छ।

चिनियाँ लाल सेनाको यो लङ मार्च चीनको क्रान्तिकारी इतिहासको एउटा महत्त्वपूर्ण घटना हो। यसले चिनियाँ क्रान्तिका लागि नयाँ जीवन दिएको थियो। यसलाई ‘मानव इतिहासको एक महान् अभियान’ मानिन्छ र यसको भावनालाई आजसम्म पनि चिनियाँले पछ्याइरहेका छन्।

यो लङ मार्च ‘पछि हट्ने’ निर्णय र दृढ इच्छाशक्ति, त्याग र अटुट विश्वासको प्रतीक तथा कठिनाइहरू पार गर्न प्रेरित गर्ने लङ मार्चको भावनाका लागि प्रसिद्ध छ। लङ मार्च कुनै योजनाबद्ध विजय यात्रा थिएन। यो एक सैन्य पराजयको परिणाम थियो। सन् १९३० को दशकमा च्याङ काई-सेकको नेतृत्वमा रहेको कुओमिन्ताङ सेनाले कम्युनिस्टहरू विरुद्ध ‘घेराबन्दी अभियान’ चलाएको थियो।

विशेष गरी पाँचौँ घेराबन्दी अभियान (१९३३-१९३४) मा कुओमिन्ताङ सेनाले नयाँ रणनीति अपनाएर कम्युनिस्टहरूको मुख्य आधार क्षेत्र च्याङसी प्रान्तको रुइचिनलाई घेरेर आर्थिक र सैन्य रूपमा एकदम कमजोर बनाएको थियो। यस अवस्थामा लाल सेनाले रुइचिन आधार क्षेत्र छोड्नुपरेको थियो। अन्ततः पूर्ण विनाशबाट बच्नका लागि लाल सेनाले आफ्नो आधार क्षेत्र छोडेर पछि हट्ने निर्णयसमेत लिनुपरेको थियो। यसरी यो यात्रा १६ अक्टोबर, १९३४ मा च्याङसी प्रान्तबाट सुरु भएको थियो र अक्टोबर १९३६ मा  समाप्त भएको थियो।

यसले चीनका १४ प्रान्त, २४ नदी र १८ पर्वत शृंखलाहरूका साथमा करिब १२ हजार किलोमिटर दूरी पार गरेको थियो। यसै कारण यसलाई लङ मार्च वा महान् अभियान भनिएको हो। यस अभियानको मुख्यत: दुईवटा उद्देश्य थिए भन्न सकिन्छ। पहिलो, कुओमिन्ताङ सेनाको घेराबन्दीबाट बच्नु र लाल सेनाको शक्ति जोगाउनु र दोस्रो, उत्तरतिर लागेर जापानी आक्रमणविरुद्ध लड्न अग्र मोर्चा स्थापना गर्नु।

लङ मार्चमा मुख्य गरी चार लाल सेना बल सहभागी थिए। लाल पहिलो, लाल दोस्रो, लाल चौथो फ्रन्ट आर्मी र लाल २५औँ कोर। यसका साथै लाल रक्षक दल, किसान आत्मरक्षा सेना र किसान गुरिल्ला सेनाहरूले पनि महत्त्वपूर्ण सहयोग गरेका थिए। यसबाहेक महिला सैनिक, नर्सलगायत अरु सहयोगीहरूले पनि त्यत्तिकै त्याग गरेका थिए। करिब ८६ हजार सैनिकबाट सुरु भएको यात्रा अन्तमा करिब सात हजार मात्र बाँकी रहेका थिए। आज, वर्तमानमा सो अभियानमा पूर्ण रूपमा संलग्न भएकामध्ये पाँच/छ जना मात्रै जीवित छन्।

यो यात्रा अत्यन्तै क्रूर र निर्दयी थियो। लालसेनाले चरम मौसम, भोक र रोगसँग लड्नुपरेको थियो। सुरुवातको करिब ८६ हजार  सैनिकहरूबाट यात्रा सकिँदा करिब सात हजारभन्दा कम मात्र बाँकी रहेको अवस्थाले ९० प्रतिशतभन्दा बढीको हताहत भएको प्रस्ट हुन्छ। सैनिकहरूले दिनमा औसत ५० किलोमिटर पैदल यात्रा गर्दै हरेक ७२ घण्टामा एकपटक युद्ध लडेका थिए।

यस लङ मार्चको क्रममा जनवरी १९३५ मा भएको चुनयी सम्मेलन सबैभन्दा महत्त्वपूर्ण मोड थियो। यहीँबाट माओ चतोङलाई पार्टी र सेनाको नेतृत्वमा पुनःस्थापित गरिएको थियो। माओको नेतृत्वमा लाल सेनाले चिश्वे नदीलाई चारपटक तरेर शत्रु सेनालाई छकाउनुका साथै लुतिङ पुलको युद्धमा वीरतापूर्ण प्रदर्शन गर्दै अद्भुत रणनीतिक कौशल देखाएको थियो। यसलाई लङ मार्चको सबैभन्दा प्रसिद्ध र वीरतापूर्ण युद्धहरूमध्ये एक मानिन्छ। यसरी अगाडि बढेको लाल सेनाले यानआनमा पुगेपछि जापानी आक्रमणकारीहरू विरुद्धको लडाइँ पनि जिते र अन्ततः १९४९ मा नयाँ चीनको स्थापना गरे।

यो लङ मार्चले धेरै महत्त्वपूर्ण सफलता हासिल गरेको छ। प्रथमत: लाल सेनालाई पूर्ण विनाशबाट बचायो, चुनयी सम्मेलनपछि पार्टीलाई सोभियत संघको प्रभावबाट मुक्त गरायो र माओलाई सर्वमान्य नेता बनायो। कम्युनिस्ट पार्टीले आफ्नो संगठनलाई सुदृढ बनायो र जनतासँगको सम्बन्धलाई गहिरो बनायो। जापानी अतिक्रमणलाई परास्त गर्‍यो।

संक्षेपमा, लङ मार्च एक सैन्य पराजयबाट जन्मेको महान् यात्रा थियो, जसले चिनियाँ कम्युनिस्ट पार्टीलाई विनाशबाट बचाउनुका साथै भविष्यका लागि आधारशिला तयार गर्यो। अथवा लङ मार्च एक सैन्य यात्रा मात्र थिएन, यो एक विचार, एक आदर्श र एक जीवनदर्शन थियो, जसलाई आज लङ मार्चको भावना भनिन्छ। यस लङ मार्चको भावनालाई दृढ इच्छाशक्ति, त्याग र अटुट विश्वासको प्रतीकका रूपमा लिने गरिन्छ र चिनियाँ जनताका लागि प्रेरणाको स्रोत बनेको छ। आज ९० वर्षपछि पनि लङ मार्चको भावनाले चीनसँगै विश्वका धेरै देशहरूलाई समेत प्रेरित गरिरहेको छ।

लङ मार्चको भावनाका मुख्य तत्त्वहरू

१. दृढ आदर्श र विश्वास

लाल सेनाका सैनिकहरूले भोक, रोग र मृत्युको सामना गर्दा पनि क्रान्तिको आदर्शमा अडिग रहे। उनीहरूलाई विश्वास थियो कि उनीहरूको संघर्ष आफ्नो लागि मात्रै होइन, समग्र चिनियाँ जनता र राष्ट्रको मुक्तिका लागि थियो। यही विश्वासले उनीहरूलाई हजारौँ किलोमिटर हिँड्ने शक्ति दियो।

२. त्याग र साहस

लङ मार्चमा सुरुको ८६ हजारमध्येबाट करिब सात हजार मात्र बाँकी रहे। यो त्यागको प्रतीक हो। मृत्युसँग खेल्दै अगाडि बढ्ने यो साहस नै लङ मार्चको भावनाको मुटु हो।

३. स्वतन्त्रता र व्यवहारिकता

चुनयी सम्मेलनपछि माओको नेतृत्वमा लाल सेनाले विदेशी निर्देशनको आँखा चिम्लेर पछ्याउन छोड्यो। चिश्वे नदीलाई चारपटक तरेर, लुतिङ पुल कब्जा गरेर र शत्रुलाई छकाउँदै उनीहरूले आफ्नै भूमि, आफ्नै जनता र आफ्नै परिस्थितिअनुसार रणनीति बनाए। यो स्वतन्त्र निर्णय र व्यवहारिकता लङ मार्चको भावनाको महत्त्वपूर्ण पक्ष हो।

४. अनुशासन र एकता

यात्राका क्रममा सैनिकहरूले कडा अनुशासन पालना गरे। जनताको घरमा बस्दा, खाना खाँदा र सामान लिँदा पनि उनीहरूले जनतालाई हानि पुर्‍याएनन्। सबै बलहरूले एकअर्कालाई सहयोग गरे। यही एकता र अनुशासनले गर्दा लाल सेना टुक्रिएन।

५. जनतामाथि केन्द्रित

लाल सेना जनताबाट अलग थिएन। किसानहरूले खाना दिए, बाटो देखाए, सूचना र नयाँ सैनिक दिए। लाल रक्षक दल, किसान आत्मरक्षा सेना र गुरिल्ला समूहहरूले मुख्य सेनालाई सहयोग गरे। “जनता नै समुद्र हुन्, सेना माछा हो” भन्ने भावना यहीँबाट आएको हो।

६. आशा र भविष्यप्रति विश्वास

सबैभन्दा कठिन घडीमा पनि लाल सेनाले हार मानेन। उनीहरूलाई थाहा थियो कि यो यात्रा सकिए पनि संघर्ष सकिने छैन। यानआन पुगेपछि नयाँ आधार बन्यो, जापानविरुद्ध मोर्चा खुल्यो र अन्ततः १९४९ मा नयाँ चीनको स्थापना भयो। यो आशावाद नै लङ मार्चको भावनाको अन्तिम स्तम्भ हो।

चीनले आज पनि लङ मार्चको भावनालाई ऐतिहासिक सम्झनाका रूपमा मात्र होइन, वर्तमान र भविष्यको विकास यात्राको प्रेरणाका रूपमा लिन्छ। स्कुल, विश्वविद्यालय, सङ्ग्रहालय र समुदायहरूमा लङ मार्चसम्बन्धी प्रदर्शनी, नाटक र सांस्कृतिक कार्यक्रमहरू हुने गरेका छन्। यसबाहेक, चीनले आधुनिकीकरण, गरिबी उन्मूलन, विज्ञान-प्रविधि, हरित विकास र राष्ट्रिय पुन:उत्थानलाई ‘नयाँ लङ मार्च’ का रूपमा व्याख्या गर्ने गरेको पाइन्छ। साथै, युवा पुस्तालाई कठिनाइसँग लड्न, आत्मनिर्भर बन्न र देशप्रति समर्पित हुन प्रेरित गर्न लङ मार्चको भावना प्रयोग गरेको देखिन्छ।

नेपालजस्तो विकासशील देशका लागि पनि यो भावना आत्मनिर्भरता, जनसहभागिता र कठिनाइसँग लड्ने साहसको प्रतीक बनेको छ। नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो चीन यात्राका क्रममा यो पङ्क्तिकारसँग (बेइजिङस्थित चाइना मिडिया ग्रुपमातहत सीजीटीएन नेपाली सेवामा कार्यरत्) लङ मार्च विषयक प्रश्नमा यसरी मूल्यांकन गरेका थिए, ‘जति पनि खराब वा जटिल अवस्था आए पनि, यदि हामी प्रारम्भिक उद्देश्यमा अडिग रहेर कठिनाइहरूलाई नडराई सामना गर्यौँ भने अन्ततः सफलता प्राप्त गर्न सकिन्छ।’

जति जटिल परिस्थिति आए पनि प्रारम्भिक उद्देश्यमा अडिग रहेर कठिनाइको सामना गर्यौँ भने सफलता अवश्य मिल्छ, परराष्ट्र मन्त्री शिशिर खनालको यो भनाइ तथा बुझाइले नेपाल र चीनबीचको सम्बन्धमा पनि सकारात्मक सन्देश फैलाएको छ। आफ्नै बाटो, आफ्नै परिस्थिति र आफ्नै जनताको आवश्यकताअनुसार विकास गर्नुपर्छ भन्ने सोचलाई यसले बल पुर्याएको छ। साथै, लङ मार्च सकिए पनि लङ मार्चको भावना कहिल्यै सकिँदैन भन्ने पनि पुष्टी गर्छ।

जबसम्म मानव समाजमा संघर्ष, आशा र परिवर्तनको आवश्यकता रहन्छ, तबसम्म यो भावना जीवित रहने छ। लङ मार्चको भावनाले मानवजातिको साझा भविष्यको समुदायतर्फ पनि संकेत गर्दछ।

त्यसैले आज, ९० वर्षपछि, लङ मार्चको भावना चीनको ऐतिहासिक घटना वा सम्पदा मात्र होइन, यो विश्वभरका मानिसहरूलाई कठिनाइहरू पार गर्न प्रेरित गर्ने साझा मानवीय मूल्य बनेको छ। यसभित्र लुकेको भावना कुनै एक देश, जाति वा पार्टीमा मात्रै सिमित हुन सक्दैन। यो मानवताको साझा सम्पदा हो। यो हरेक पुस्ताका लागि एउटा सन्देश हो, ‘कठिनाइ आउँछन्, तर आदर्श, एकता, अनुशासन र जनताप्रतिको विश्वास भएमा जुनसुकै बाधा पनि पार गर्न सकिन्छ।’

प्रकाशित: २४ असोज २०८३ १३:४४ | Saturday, October 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast