त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र निकाल्न मन्त्री पोखरेलको निर्देशन

हिमाल प्रेस २२ असोज २०८३ १०:५६ | Thursday, October 8, 2026
14
SHARES
त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र निकाल्न मन्त्री पोखरेलको निर्देशन शिक्षामन्त्री सस्मित पोखरेल। फाइल तस्बिर

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीको अत्यधिक संख्याका कारण परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बताए। उनले नतिजा प्रकाशनलाई प्रभावकारी बनाउन तल्लो तहलाई अधिकार हस्तान्तरण गर्दै विश्वविद्यालयमा पूर्ण रूपमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए।

‘त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ। हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुपर्ने प्रधानमन्त्रीको निर्देशन छ। विद्यार्थी धेरै भएकाले नतिजा ल्याउन ढिलाइ भइरहेको छ। विकेन्द्रीकरणलाई लागू गर्नुपर्छ,’ उनले भने।

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने ठोस र प्रभावकारी योजना ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरे।

उनले त्रिभुवन विश्वविद्यालयलाई समयसापेक्ष, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनुपर्ने बताए। त्रिविले नेपालको उच्च शिक्षा, जनशक्ति निर्माण र राष्ट्र निर्माणमा ऐतिहासिक योगदान पुर्‍याएको स्मरण गर्दै उनले बदलिँदो समयमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणबाट सिर्जित चुनौतीलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई प्रमाणपत्र प्राप्तिका लागि नभई ज्ञान, सीप, सृजनशीलता र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतासहित तयार पार्नुपर्ने बताए।

अनुसन्धानमा लगानी वृद्धि, विश्वविद्यालय उद्योग सहकार्य विस्तार तथा शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले तोकिएकै समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी सेवा प्रवाहलाई प्रविधिमैत्री तथा पारदर्शी बनाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए।

विश्वविद्यालय सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई परीक्षाका लागि मात्र नभई जीवन र समाजका लागि तयार पार्नुपर्ने धारणा राखे। डिजिटल रूपान्तरण र प्रविधिको जिम्मेवार तथा नैतिक प्रयोगका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिँदै उनले फरक विचार र दृष्टिकोण भए पनि गुणस्तरीय शिक्षा र त्रिविको संस्थागत सुदृढीकरणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने सामूहिक संकल्प गर्न आह्वान गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast