काठमाडौँ- भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई पठाउने भएको छ।
विदेश मन्त्रालय सचिव (आर्थिक सम्बन्ध) रहेका उनलाई भारतले नेपालको राजदूतमा पठाउन लागेको हो।
यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा दलेलालाई प्रस्ताव गरिएको परराष्ट्र मन्त्रायल स्रोतले जनाएको छ।
बंगलादेशजस्तै नेपालमा पनि भारतले राजनीतिक व्यक्तिलाई राजदूतका रुपमा पठाउने चर्चा चलिरहँदा परराष्ट्र सेवाका कर्मचारीलाई प्रस्ताव गरेको हो।
दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए। उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरू गरेका थिए।
उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु, वाशिङटन डीसीस्थित भारतीय नियोगहरूमा काम गरिसकेका छन्। पछिल्लो समय उनले भुटानको राजदूतका रूपमा जिम्मेवारी सम्हालेका थिए। दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानमा राजदूत थिए।
दलेलाले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा समेत काम गरेका छन्।



