१८ वर्षमै कांग्रेसको केन्द्रीय नेतृत्व ताक्दै युवा

किरण पौडेल २१ असोज २०८३ २०:३८ | Wednesday, October 7, 2026
66
SHARES
१८ वर्षमै कांग्रेसको केन्द्रीय नेतृत्व ताक्दै युवा

काठमाडौँ- युवा पुस्ता पनि नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको आकांक्षी बनेको छ। पदाधिकारीमा पुरानै पुस्ताको वर्चस्व रहे पनि केन्द्रीय सदस्यमा नयाँ र किशोर पुस्ताले दाबी गरेको छ।

१४ औँ महाधिवेशनसम्म कांग्रेसमा उमेर समूह वा क्लस्टर थिएन। जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनले ३५ वर्षमुनिको युवा क्लस्टर बनाएको हो। अहिले यही क्लस्टरमा प्रदेशगत रूपमा एक खुला र एक महिला गरी दुई पदका लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ।

सातै प्रदेशबाट दुई–दुई जना निर्वाचित हुँदा कांग्रेसको केन्द्रीय तहमा कम्तीमा १४ जना ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व निश्चित हुनेछ। कोशीमा महिला एक पदका लागि ८ र खुलातर्फ १३ जना प्रतिस्पर्धामा छन्। मधेशमा महिला ३ र खुलामा १०, बागमतीमा महिला र खुला ७–७, गण्डकीमा ३–३, लुम्बिनीमा महिला ५ र खुला ७, कर्णालीमा महिला ३ र खुला ४ तथा सुदूरपश्चिममा महिला ७ र खुला ५ जना प्रतिस्पर्धामा छन्।

अभिप्सा पौडेल : १८ वर्षमै केन्द्रीय सदस्य बन्ने हुटहुटी

मकवानपुरकी १८ वर्षीया अभिप्सा पौडेल कांग्रेसको १५ औँ महाधिवेशनकी कम उमेरकी महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यकी उम्मेदवार हुन्। महाधिवेशन प्रतिनिधि बनेकै वर्ष केन्द्रीय तहमा पुग्ने उनको चाहना छ।

‘हामीले बुझेका कुरा पार्टीलाई भन्नुपर्छ र निर्णायक ठाउँमा पुर्‍याउनुपर्छ भन्ने लागेर उम्मेदवारी दिएकी हुँ,’ अभिप्सा भन्छिन्।

कांग्रेसी परिवारमा हुर्किएकी अभिप्साले सानैदेखि राजनीतिमा रुचि राखिन्। ‘म त जन्मिँदैको कांग्रेस हो। अरूले हाइहाइ भन्दा म जय नेपाल भन्थे रे,’ उनी हाँस्दै भन्छिन्, ‘अरूले कार्टुन हेर्ने उमेरमा मैले न्युज हेर्नुपर्थ्यो।’

विद्यालयमा वक्तृत्वकलामा समेत सक्रिय उनी १६ वर्षमै नेविसंघ मकवानपुरको जिल्ला सचिव भएकी थिइन्। लियो लाइन्स जिल्ला परिषद् ३२५ को जिल्ला सचिव रहेकी उनी बालक्लबको नेतृत्वमा समेत सक्रिय भइन्। कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी उनी अहिले पद्मकन्या कलेजमा सामाजिक विषय अध्ययन गरिरहेकी छन्।

अभिप्साले बागमती प्रदेशबाट ३५ वर्षमुनिको युवा महिला क्लस्टरमा उम्मेदवारी दिएकी छन्।

दन्त चिकित्सक रुबीको राजनीति नेतृत्व गर्ने उद्देश्य

झापाकी २२ वर्षीया दन्त चिकित्सक रुबी सिटौला पनि कांग्रेसको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा छिन्। झापाबाट कान्छी प्रतिनिधि बनेकी उनी राजनीतिक यात्रालाई परिणाममुखी बनाउन नेतृत्वमा पुग्न चाहन्छिन्।

सिटौलाले आफ्नो उम्मेदवारीलाई आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन्।

‘महिलाको राजनीतिक सहभागिता संख्यात्मक प्रतिनिधित्वमा सीमित नभई नीति निर्माणको केन्द्रमा महिलाको अनुभव र दृष्टिकोण पुग्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘युवालाई चुनावी भिड र नारामा सीमित नराखी संगठन निर्माण, नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिलाउन उम्मेदवारी दिएकी हुँ।’

कांग्रेसको इतिहासलाई सम्मान गर्दै वर्तमान र भविष्य निर्माणमा त्यसको उपयोग गर्नुपर्ने उनको भनाइ छ। उनी यसअघि नेविसंघ काठमाडौँ–झापा सम्पर्क मञ्चको सचिव थिइन्। रुबीले कोशी प्रदेशको ३५ वर्षमुनिको युवा महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।

भुपी : स्ववियु सभापतिबाट पार्टी केन्द्रमा नजर

बैतडीकी २४ वर्षीय भूपेश्वरी ऐर ‘भुपी’ ले पनि कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। उनी हाल पद्मकन्या क्याम्पस बागबजारको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति छिन्। तत्कालीन नेविसंघले टिकट नदिँदा विद्रोह गरेर चुनाव जितेकी भुपीले यसपटक केन्द्रीय नेता बन्ने दौडमा छन्। ‘हामी सुदूरपश्चिमका महिला हौँ। हाम्रो पीडा र समस्या सुनाउन पनि मैले नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ’, उनी भन्छिन्।

भुपीको राजनीति पनि परिवारबाटै जोडियो। उनको परिवार कांग्रेसमा आस्था राख्ने भएकै कारण भुपी पनि उतै होम्मिइन्। जिल्ला तहमा खास राजनीति नगरे पनि उनले काठमाडौँ आएर राजनीति गर्ने मौका पाइन्। ‘जिल्ला तहमा कांग्रेसप्रति आस्था मात्र थियो। काठमाडौँ आएपछि धेरै राजनीति बुझ्न पाइयो,’ उनी भन्छिन्, ‘अब आफैँ नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ।’ उनले कांग्रेसको ३५ वर्षमुनिको युवा महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्।

कांग्रेसलाई ‘गौरव’ बनाउने गौरवको योजना

ताप्लेजुङका २४ वर्षीय गौरव भण्डारी पनि केन्द्रीय सदस्यका आकांक्षी हुन्। कांग्रेसको १४ औँ महाधिवेशनमा सदस्यता लिएका उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि ‘युथ कांग्रेस’मा सक्रिय भएका थिए।

‘सबै कुरा ठीकै लाग्दै थियो। तर संसद् विघटन चाहिँ चित्त बुझेन। त्यसपछि म युथ कांग्रेसमा आबद्ध भएँ,’ गौरव भन्छन्।

कांग्रेसी परिवारका गौरव पार्टी सभापति गगन थापाको सचिवालयमा समेत काम गर्छन्। ल क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत उनी पार्टी नेतृत्वमा पुगेर नीतिगत सुधार गर्न चाहन्छन्।

‘जेनजी आन्दोलनपछि हाम्रो पार्टीले धेरै कुरा बुझ्यो। युवामा आक्रोश रहेछ। त्यो आक्रोशलाई दब्न नदिन पनि युवालाई प्रतिनिधिका रूपमा केन्द्रमा पुर्‍याउनुपर्छ,’ उनी भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast