काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन्।
बुधबार कांग्रेसको महाधिवशेनअन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पु¥याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताए।
उनले महाधिवेशनमा युवा प्रतिनिधिदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूसम्मले देखाएको भरोसालाई आत्मसात गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। केवल नेतृत्व वा अनुहार फेर्दैमा पार्टीको दिगो विकास नहुने भन्दै उनले नीति, सिद्धान्त, संस्थागत प्रणाली र क्रियाशीलतामा परिवर्तन ल्याउन सके कांग्रेसले युगौंसम्म देशलाई दिशा निर्देश गर्न सक्ने धारणा राखे।
नेता आङ्देम्बेले कांग्रेसलाई केवल सरकार बनाउने र सत्ता प्राप्त गर्ने माध्यममात्र नबनाई मुलुकको समृद्धि, समुन्नति र परिवर्तनका सोचहरू कार्यान्वयन गर्ने सशक्त पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।
उनले पार्टीलाई सिङ्गो र एकढिक्का बनाएर लैजाने प्रयासलाई समर्थन गर्दै आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारे। आफू पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो र प्रखर आवाज बनेर निरन्तर उभिरहने उनको भनाइ छ।



