काठमाडौँ – उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १२ सैनिक मारिएका थिए।
स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरलाई धम्की दिएको विषयलाई लिएर गिरोहले बदलाको कारबाही गरेको बताएका छन्।
आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीलाई बताए। उनका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो।
उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित छन्। गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन्।
अनौपचारिक सुन खानी क्षेत्रका कामदारलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन्। खानीस्थलको नियन्त्रण तथा सुनबाट हिस्सा माग्दै उनीहरूले कामदारमाथि आक्रमण गर्ने गरेको बताइएको छ।
घटनाबारे एएफपीले सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ।-रासस/एएफपी



