काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
कांग्रेसको १५ औँ महाधिवेशनमा मंगलबार आगामी सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
महाधिवेशनको उद्घाटन र बन्दसत्र खुला मञ्चमा गरेको कांग्रेसले निर्वाचन प्रक्रिया राष्ट्रियसभा गृहमा गरिरहेको छ।
सभापति पदमा बहालवाला सभापति गगन थापाका साथै श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
वरिष्ठ उपसभापति पदका लागि वर्तमान उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ।
त्यस्तै उपसभापति खुलातर्फ डा.चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा.मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ गोविन्द भट्टराई र डा.चन्द्रमोहन यादवको उम्मेदवारी दर्ता भएको छ। कांग्रेस विधानमा खुलातर्फ एक उपसभापतिको व्यवस्था गरिएको छ।
त्यस्तै महिला उपसभापतिका लागि पुष्पा भुसालको मात्रै उम्मेदवारी दर्ता भएको बताइएको छ। कांग्रेस विधानमा एक जना महिला उपसभापतिको व्यवस्था छ।
एक जना समावेशी उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। समावेशी उपसभापतितर्फ जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जीत कर्णले उम्मेदवारी दर्ता गराएका छन्।
दुई जना खुला महामन्त्रीका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ। यो पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा.सुनिल शर्मा र डा.सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै महिला महामन्त्रीतर्फ डा.डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सभापतिमा तीन, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक, खुला उपसभापतिमा ९, समावेशी उपसभापतिमा पाँ, खुला महामन्त्रीमा आठ र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।
अन्य पदहरूको विवरण संकलन भइरहेको उनले जानकारी दिए।



