काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ।
बुधबारको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।
सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ।
बिहान १०:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी ११:३० बजेदेखि सुरु गर्ने तयारी भएको थियो। तर, यसबीच अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्दसत्र प्रभावित भएको हो।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यही असोज १८ गते खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भई अहिले सोही स्थानमा बन्दसत्र जारी छ।
बन्दसत्रमा उल्लिखित चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गर्ने तयारी रहेको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको प्रवक्ता चालिसेले बताए। उनका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो।
प्रवक्ता चालिसेले बन्द सत्रको ‘लाइभ’ कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गरिने भएको जानकारी दिए। अन्य मिडियाहरूले समेत बन्दसत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउनेछन्।
बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ।



