बाँके- दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्।
भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगन्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ।
दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा रहेका नेपाली चाडपर्वका अवसरमा स्वदेश फर्किने गरेका छन्। पछिल्लो समय जमुनाहा नाकाबाट भारततर्फ जानेभन्दा नेपाल फर्किने यात्रुको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ।
दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै पाँच वर्षपछि दसैँ, तिहार मनाउन घर फर्किएका छन्। भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थापा परिवारको खर्च धान्न कठिन भएपछि पाँच वर्षअघि छिमेकीसँगै रोजगारीका लागि भारत गएका थिए। लामो समय भारतमा बसेर काम गरेपछि चाडपर्वका बेला परिवारसँगै बस्ने इच्छा पूरा गर्न उनी नेपाल फर्किएका हुन्।
भारतमा रोजगारी गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएका हेमन्तजस्तै जाजरकोटको नलगाड नगरपालिका-४ की गंगाधरा केसी पनि चाडपर्व मनाउन बुधबार जमुनाहा नाका हुँदै घर फर्किएकी छन्। भारतमा समेत लामो समय संघर्ष गरेर छोराछोरी हुर्काउँदै आएकी गंगाधरा यसपटक दसैँ मनाउन घर फर्किन पाउँदा खुसी छिन्।
बर्दियाको बढैयाताल गाउँपालिका-७, जमुनीका गोपाल थापा पनि नजिकिँदै गरेको दसैँ, तिहार मनाउन भारतको हिमाचल प्रदेशबाट घर फर्किएका छन्। विगत १८ वर्षदेखि भारतमा काम गर्दै आएका थापा चाडपर्वका बेला नेपाल आउने गर्छन्। लामो समयदेखि भारतमा रोजगारी गर्दै आए पनि दसैँ, तिहार भने परिवारसँगै मनाउने गरेको उनले बताए।
रोजगारीका कारण वर्षभरि घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले चाडपर्वलाई परिवारसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरेको उनको भनाइ छ। यसपटक भने जमुनाहा नाकामा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सञ्चालन गरिएको यात्रु सहायता कक्षले आफूहरूको यात्रा थप सहज बनाएको उनले बताए।
‘यसपटक सीमा नाकामा यात्रु सहायता कक्ष राखिएको रहेछ। कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो। यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो लागेको छ’, उनले भने।
चाडपर्वका बेला भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्किने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। भारतबाट आउने नेपालीलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको संख्या दिनहुँ बढिरहेको छ। अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्।
‘बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ। प्रत्येक दिन पाँच हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्’,उनले भने।
उनका अनुसार भारतको नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली अहिले दसैँ, तिहार मनाउन स्वदेश फर्किरहेका छन्।
चाडपर्व नजिकिँदै जाँदा नेपाल फर्किने नेपालीको संख्या अझ बढ्ने उनको भनाइ छ। भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने नेपालीको ठूलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाबाट हुने गरेको छ। रासस



