प्रहरी
काभ्रे- दसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका प्रमुख राजमार्ग तथा संवेदनशील स्थानमा २४ सै घण्टा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
बिपी र अरनिको राजमार्गलगायत मुख्य सडकका चोक बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, पनौती र मंगलटारमा सहायता कक्ष स्थापना गरिएको हो।
बनेपाको चारदोबाटोमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले यात्रु सहायता कक्षको औपचारिक शुभारम्भ गरे।
सो अवसरमा उनले चाडपर्व मनाउन घर फर्किने यात्रुलाई बिचौलियाबाट हुनसक्ने भाडा ठगी, दिइने सास्ती तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न सहायता कक्ष दिनरात २४ सै घण्टा सञ्चालनमा रहने जानकारी दिए।
उपरीक्षक कार्कीका अनुसार सहायता कक्षमा खटिएका प्रहरी कर्मचारीले यात्रुलाई तोकिएको भाडादरका विषयमा जानकारी गराउने, सुरक्षित यात्राका लागि सहजीकरण गर्ने तथा कुनै समस्या परेमा तत्काल सहायता उपलब्ध गराउने छन्।
जिल्ला प्रहरी कार्यालयले यात्राका क्रममा कुनै समस्या, ठगी वा असुरक्षा भएमा नजिकैको सहायता कक्ष वा नेपाल प्रहरीको नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।



